Logo

बारा २ मा गठबन्धनबाहेकका दल दोस्रो, तेस्रो हुने प्रतिस्पर्धामा छन्ः लोसपा नेता



काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
‘बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको पक्षमा माहोल बन्दै गएको छ । पहिलो को हुन्छ भन्ने निश्चित भैसक्यो । अरु दलको दोस्रो, तेस्रो र चौथो बन्ने मात्र प्रतिस्पर्धा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाले भने ।
उनले जनमत पार्टीलाई गठबन्धनमा बस्ने नैतिकता नभएको पनि बताए । झाले थपे, ‘हामी सत्ता गठबन्धनमा छौं । बारा २ को महत्त्वपूर्ण पार्टी कांग्रेस हो, माओवादीले पनि उपेन्द्र यादवलाई समर्थन गरेका छन् । सीके राउत बोली फेरिइरहनुभएको छ । जनतालाई झुक्याइरहनुभएको छ । एकातिर गठबन्धनमा पनि छु भन्ने, अर्कातिर गठबन्धनको निर्णय पनि नमान्नु ठीक होइन । गठबन्धनमा रहेर त्यसविपरीतका निर्णय गर्नु अनैतिक हो ।’
नेता झाले बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले सुशासन दिन नसक्ने ठोकुवा गरे । उनले भने, ‘रमेश खरेलले पर्सामा एसपी हुँदा सुराकी शीर्षकमा आफ्नै श्रीमतीका नाममा करोडौं खानुभएको छ, व्यापारी र तस्करबाट पैसा उठाउनुभएको छ । उहाँले कुन प्रकारको सुशासन दिनुहुन्छ भन्ने कुरामा अब अलमलिनु पर्दैन, त्यो उदांगो भइसकेको छ । हाम्रो देशमा स्वाभिमानसहितको सुशासन आवश्यक छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वैशाख पहिलो वा दोस्रो हप्ता भारत भ्रमण जाने पनि बताए । उनले भने, ‘नेपाल र भारतबीच खुला सीमा छ । ऐतिहासिक र सांस्कृतिक सम्बन्ध छ । जनता-जनता, सरकार-सरकारबीच सम्बन्ध भएको र सबभन्दा ठूलो सहयोगी देशलाई सदैव औंलो ठड्याइराख्नु पनि उचित होइन ।’



प्रतिक्रिया दिनुहोस्