Logo

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा. न्यौपाने



चितवन, २९ चैत । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गरेका डा. विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बनेका छन् । निरन्तरको मिहिनेतले उनलाई हेल्थ असिस्टेन्टदेखि अस्पतालको अध्यक्षसम्म पु¥याएको हो ।

यसबीचमा उनले गरेका सङ्घर्ष आफैँमा अनुकरणीय छ । जिल्लाका थोरै एनेस्थेसियोलोजिस्टमध्येका डा. न्यौपाने चिनिएको नाम हो । उनलाई हालै सरकारले भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ । मङ्गलबार उनले पदबहाली गरेर काम सुरु गरेका छन् । एक्काइस वर्ष सोही अस्पतालमा काम गरेर निवृत्त भएका डा. न्यौपानेले अस्पतालका सबै कुराको अनुभूति नजिकबाट गरेका छन् ।

रत्ननगर नगरपालिका–१२ जयमङ्गलामा विसं २०१७ पुस २३ गते जन्मिएका न्यौपाने जिल्लामै जन्मिएका चिकित्सकमध्ये दोस्रो हुन् । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिसित्सक उनी हुन्े । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उनी हुन् ।

डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे । कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गरे । त्यहीँबाट उनले विसं २०३३ मा एसएलसी उत्तीर्ण गरे । जिल्लामा आठजनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये न्यौपाने एक थिए ।

त्यसपछि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी यसपछिको छ वर्ष चितवन, नवलपरासी र पर्साका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरे। विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि गए । उनले विसं २०५० मा एमडी (यहाँको एमबिबिएस सरह) को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए । न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरे ।

उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गरे । त्यसपछि विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिस्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्न तीन वर्ष उनले त्यहाँ बिताए । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनको जीवन विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

दिनको समयमा क्यान्सर अस्पताल र साँझ–बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उनी लागिरहे । उनले भने, “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झन्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उनले भने, “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिबेला सानासाना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । न्यौपानेसँगै चिकित्सक थपिँदै जाँदा सबैखालका शल्यक्रिया यही हुने गरेका छन् ।

कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिस्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अङ्ग बेहोस बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोका रुपमा चित्रण गर्न सकिन्छ ।

दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उनीसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा. न्यौपानेले विगतलाई सम्झँदै भने, “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिस्टको सङ्ख्या कम हुनाका कारणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो, मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उनले काम गरेको अनुभव छ ।

उनले भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिस्ट अभावमा त्यहाँको सेवा अवरुद्ध नहोस् भनेर स्वयम्सेवी सेवा गरेका छन् । पछिल्ला दिनमा एनेस्थेसियोलोजिस्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उनले बताए । अहिले जिल्लामा यो सङ्ख्या ४० हाराहारी पुगेको छ ।

विसंं २०१२ मा लमजुङको दुराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन बसाइँसराइ गरे । उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन सङ्घ, नेपाल रेडक्रसलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानका कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उनले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गरेका छन् ।

नेपाल चिकित्सक सङ्घका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेएका उनले विभिन्न सामाजिक सङ्घसंस्थामा सेवा पु¥याउँदै आएका छन् ।

आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई उनले आफैँले पढेको विषयमा पढाएर आफ्नै विभागमा अनुभवलाई आदानप्रदान गर्दै आएका छन् । न्यौपानेका दुई छोरा चिकित्सक छन् । उनले क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएको हो । उनले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरे ।

चिकित्सा क्षेत्रको लामो अनुभवपछि नेतृत्व सम्हाल्न आएका डा. न्यौपानेले इमान्दारीपूर्वक अस्पतालको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालको तल्लो तहदेखि माथिल्लो तहसम्म सबैलाई चिनेको र अस्पताललाई नजिकबाट अनुभूति गरेका कारण काम गर्न सहज हुने विश्वास उनले व्यक्त गरे । उनले भने, “मलाई प्रशंसा चाहिँदैन, अन्जानमा कुनै गल्ती भए घच्घच्याइरहनुहोला ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot