काठमाडौं, वैशाख १ । जनता समाजवादी पार्टी (जसपा) क.अध्यक्ष एवं पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवले बारा २ को उपनिर्वाचनमा आफ्नो कोही प्रतिस्पर्धी नभएको दाबी गरेका छन् ।
‘बाराका जनता एकदमै उत्साही छन् । जनता नै चुनावमा लागेका छन् । जनताले आफैंलाई जिताउँछन् । मलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले खुलेर सहयोग गरेका छन् । मेरो प्रतिस्पर्धी कोही पनि छैन’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
बारा २ मा गठबन्धनका उम्मेदवार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत नसुध्रिएको टिप्पणी पनि गरे । उनले भने, ‘उनी को हुन्? कहाँबाट लागेका हुन्? उनलाई कसले चलाएका हुन् ? उनी कसका लागि काम गर्छन् ? अरूको इशारामा मुलुक टुक्राउन लाग्ने, सार्वभौम सत्ता र अखण्डतामाथि चुनौती दिने व्यक्तिसँग केको तालमेल, केको कुराकानी ? उनी सुध्रिन्छन् कि भनेर गठबन्धनमा ल्याएको हो, तर त्यस्तो लक्षण देखिएन । यादवले जनमत पार्टी गठबन्धनमा नरहेको पनि बताए ।