Logo

उपनिर्वाचनलगत्तै सरकार परिवर्तनको हल्ला, देउवा प्रधानमन्त्री बन्ने !



काठमाडौं, २ बैशाख । बैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन सकिएलगत्तै कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलेको छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले छिट्टै सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि एकपछि अर्को गरेर नेताहरुले सरकार परिवर्तन हुनेबारे टिप्पणी गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा नै रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बैशाखसम्म शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना औंल्याएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको १० दलीय गठबन्धन लामो समय जालाजस्तो आफूलाई नलागेको जिकिर गरे ।

उनले एमालेले शेरबहादुर देउवालाई पाँचै वर्ष सरकारको नेतृत्व गर्नको लागि अफर गरेकोले सत्ता–राजनीतिमा नयाँ च्याँखे थापिएको सुनाए । हिजोमात्रै राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले पनि अहिलेको सरकार बैशाख १० गतेको निर्वाचनपछि ढल्ने दाबी गरेका थिए । एमाले नेताहरुले पनि सार्वजनिक रुपमै आफूहरुले चाहे अहिलेको सरकार एक साताभित्रै ढालिदिने चूनौति दिएका छन् ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भैसकेको छ । तर, गठबन्धन गरेर जाँदा काम गर्न नसकिने भन्दै कांग्रेसभित्र पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिनुपर्ने र यसको लागि एमालेसँग सहकार्य गर्नुपर्ने आवाज उठ्न थालेको छ । यो बीचमा देउवालाई एमाले नेतृत्वले पाँचै वर्ष सरकारको नेतृत्व लिन प्रस्ताव गरेको चर्चा छ ।

सिके राउतले गरे प्रचण्ड प्रधानमन्त्रीमा नटिक्ने संकेत

देउवाले अहिलेपनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने र ठूलो दलको हिसाबले सरकारको नेतृत्व गर्नसक्नेबारे राजनीतिक वृत्तमा चर्चा छ । तर, देउवाले दाहालसँगको सहकार्य तोडेर नयाँ राजनीतिक कोर्स लिन्छन् वा लिँदैनन् त्यो भने अहिले यसै भन्न सकिने अवस्था छैन् । कतिपयले भने बैशाख १० गतेको उपनिर्वाचन सकिएलगत्तै देउवाले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहालले भने अहिलेको सरकार पाँचै वर्ष जाने दाबी गर्दै आएका छन् । उनले कांग्रेससहितको आफूहरुको गठबन्धन अर्को निर्वाचनसम्म जाने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot