Logo

यस्तो छ सन्दीपको विश्वकिर्तिमानी १ सय २ विकेटको यात्रा



  • भूपेन्द्रसिंह धामी

काठमाडौं, ८ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा लेग स्पिनगर सन्दीप लामिछाने नेपालका उम्दा बलर हुन्।

कम उमेरदेखि नै राष्ट्रिय टोलीबाट खेल्न थालेका सन्दीपसँग नेपाली राष्ट्रिय टोलीबाट नभइ विश्वचर्चित इन्डियन प्रमियर लिग(आइपीएल)का साथै २२ भन्दा बढि राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेको अनुभव छ।

एकदिवसीय, टी-२० र लिस्ट ‘ए’का विभिन्न खेलहरु खेलिसकेका लामिछानेले आज(शुक्रबार) एसीसी प्रिमियर लिगअन्तर्गत ओमानसँग तीन विकेट लिँदै एकदिवसीयमा विश्वकिर्तिमानसमेत कायम गरे।

सन् २०१८ को अगस्ट १ बाट एकदिवसीय क्रिकेट खेल्न सुरु गरेका सन्दीपले शुक्रबार सर्वाधिक छिटो सय विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरे। उनले आज करियरको ४२औं एकदिवसीय खेल खेल्दै १ सय २ विकेट लिए।

यसअघि यो किर्तिमान अफगानिस्तानका विश्व चर्चित बलर राशिद खानको नाममा रहेको थियो। खानले ४४ खेलमा आफ्नो सय विकेट पूरा गरेका थिए।

१ अगस्ट २०१८ मा नेदरल्याण्डसविरुद्ध एकदिवसीयमा डेब्यु गर्दै सन्दीपले आफ्नो पहिलो विकेटको खाता खोलेका थिए। भीआरए क्रिकेट मैदान नेदरल्याण्डमा भएको खेलमा घरेलु टोली नेदरल्याण्डविरुद्ध सन्दीपले १० ओभर बलिङ् गर्दै ४२ रन खर्चेर १ विकेट लिँदै आफ्नो करियरको खाता खोलेका थिए। तर सो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो।

नेदरल्याण्डविरुद्ध सोही मैदानमा अगस्ट ३मै भएको अर्को अर्थात दोश्रो एकदिवसीय खेलमा सन्दीपले १० ओभर बलिङ् गर्दै ४१ रन खर्चेर ३ विकेट लिएका थिए। सो खेल नेपालले १ रनले मात्र जितेको थियो।

तेश्रो, चौथो, पाँचौ र छैटौं खेल युएईविरुद्ध खेलेका सन्दीपले क्रमश: ४, २, ४ र १ विकेट लिएका थिए।

सन् २०२०को ५ फेब्रुअरीमा नेपालको घरेलु मैदान क्रिर्तिपुरमा ओमानसँग भएको सातौ खेलमा सन्दीप विकेटविहीन बनेका थिए। किर्तिपुरमै अमेरिकासँग भएको आठौं खेलमा सन्दीपले २ विकेट आफ्नो खातामा जम्मा गरेका थिए।

नवौं खेलमा ओमानसँग विकेटविहीन बनेका सन्दीप १०औं खेलमा भने अमेरिकाको एक्लैले ६ विकेट लिएका थिए।

२०२१ को सेप्टेम्बरमा पपुवा न्युगिनीसँग ११औं र १२औं खेलमा सन्दीपले क्रमश: ४ र ६ विकेट लिए। १३औं खेलमा अमेरिकासँग २ विकेट लिँदा १४ औं खेल ओमानसँग सन्दीपले बलिङ्ग गर्ने मौका पनि पाएनन्।

करियरको १५औं एकदिवसीय खेलमा अमेरिकासँग २ विकेट लिँदा १६औं खेल ओमनसँग ४ विकेट लिए।

१७औं र १८औं खेल पपुवा न्युगिनी र युएईसँग खेलेका सन्दीपले दुईटै खेलमा समान १/१ विकेट लिए।

उनले युएईसँगकै १९औं खेलमा ३ विकेट लिए। करियरको २०औं, २१औं र २२ औं खेल पपुवा न्युगिनीविरुद्ध खेलेका लामिछानेले क्रमश: २, १ र १ विकेट लिन पुगे।

२३औं ओमान, २४औं अमेरिका, २५औं ओमान र २६औं अमेरिकासँग भएको त्रिदेशीय सिरिजमा सन्दीपले क्रमश: २, १, ३ र २ विकेट लिए।

यस्तै, नामेबियाविरुद्धको २७औं खेलमा सन्दीपले ४ विकेट लिँदा २८औं खेल स्कटल्याण्डविरुद्ध खेल्दै २ विकेट लिए।

सन्दीपले २९ औं खेलमा नामेबियाविरुद्ध फेरि ४ विकेट लिए। स्कटल्याण्डविरुद्ध ३०औं खेल खेलेका सन्दीपले सो खेलमा १ विकेट लिए।

सन् २०२३ को फेब्रुअरीमा किर्तिपुरमा भएको स्कटल्याण्ड, नामेबियाविरुद्ध भएको त्रिदेशीय खेलमा सन्दीपले करियरको ३१औं, ३२औं, ३३औं र ३४औं खेल खेल्नेक्रममा तीन खेलमा समान ३/३ र एक खेलमा ४ विकेट लिए।

दुबईमा मार्चमा भएको युएई र पपुवा न्युगिनीविरुद्धको ३ खेलमा सन्दीपले क्रमश: ३, १ र १ विकेट लिएका थिए। उनले सो क्रममा करियरको ३५, ३६ र ३७औं खेल खेलेका थिए।

मार्चमै किर्तिपुरमा भएको पपुवा न्युगिनी र युएईविरुद्धको त्रिदेशीय सिरिजमा सन्दीपले ३८, ३९ र ४० र ४१औं खेलमा क्रमश: ४, २, ५ र १ विकेट लिए।

४२औं अर्थात आज(बिहीबार) ओमानविरुद्ध भएको खेल सन्दीपको करियरकै अविष्मरणीय खेल बन्न पुग्यो। सो खेलमा सन्दीपले ८ ओभर बलिङ् गर्दै ४५ रन खर्चेर ३ विकेट लिए।

योसँगै सन्दीपले एकदिवसीयमा १ सय २ विकेट आफ्नो खातामा जोड्दै विश्व रेकर्ड बनाएका छन्।

स्याङ्जामा जन्मिएका २२ वर्षिय सन्दीप लेगस्पीन गुग्ली बलिङ् गर्नुका साथै दायाँ हाते ब्याट्सम्यान पनि हुन्। उनले खेलेका ४२ एकदिवसीय खेलमध्ये २८ खेलमा ब्याटिङ् गर्ने मौका पाएका छन्।

सो २८ खेलमा लामिछाने सातौं नम्बरको ब्याटिङ्‍ क्रममा मैदान प्रवेश गर्दा ५ छक्का र २४ चौका प्रहार गर्दै हालसम्म २ सय ८४ रन जोडिसकेका छन्। यस क्रममा उनले सबैभन्दा उच्च एक टिमका विरुद्ध अविजीत ३५ रन जोडेका छन्।



प्रतिक्रिया दिनुहोस्