Logo

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण



काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ।

झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ।

यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो। ‘लाइट लोड’ कायम छ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन्।

प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ। कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उनले भने, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ। एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो। त्यो समाधान भइसकेको छ।”

धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उनले भने, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए। रुपैनीमा प्राविधिक समस्या देखिएको थियो। सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो। अहिले कुनै जटिलता छैन।”

बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो। यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ। तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot