Logo

सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी



खार्तूम, ११ वैशाख । सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नियन्त्रणमा गएको छ ।

खार्तूमबाट ८५० किलोमिटर (५३० माइल) को दूरीमा रहेको रेड सी रहेको पोर्ट सुडानबाट केही उद्धार कार्य भइरहेको छ ।

यहाँ विभिन्न देशहरूले फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पु¥्याउने प्रयासमा साउदी अरबले सबैभन्दा पहिले युद्ध शुरू भएको एक हप्तापछि शनिबार पहिलो पटक सफल उद्धारको नेतृत्व गरेको थियो, जसमा नौसैनिक उद्धार टोलीले विदेशी कूटनीतिज्ञ र अधिकारीहरू सहित १५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरेको थियो ।

कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बङ्गलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासोगरी १२ मुलुकका ९१ जना साउदी नागरिक र करिब ६६ जना नागरिकलाई रियादले ‘सुरक्षित’ रूपमा उद्धार गरेको जनाएको छ । आइतबार अमेरिकी सेनाले खार्तूमबाट अमेरिकी दूतावासका कर्मचारीलाई बाहिर निकाल्न तीनवटा चिनुक हेलिकप्टर पठाएको थियो ।

एक सयभन्दा बढी अमेरिकी सेनाले सोही सङ्ख्यामा एक घण्टाभन्दा कम समयमा मानिसहरूलाई सुडानबाट बाहिरिन सघाएका थिए । अमेरिकी अधिकारीहरुले आगामी दिनमा अमेरिकी नागरिकहरुको उद्दारका लागि व्यापक प्रयास हुने सम्भावना नरहेको बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले पनि आफ्नो दूतावासको टोलीलाई बाहिर निकालेको बताएका छन् । त्यसैगरी, बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनाले ‘जटिल र द्रूत’ अपरेसनमार्फत् बेलायती दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई बाहिर निकालेको बताएका छन् । सुडानमा अझै पनि फसेका बेलायती नागरिकले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार भने, “हामीले तपाईं कति कठिन र डरलाग्दो परिस्थितिमा छन् भन्ने बुझेका छौं त्यसैले हामी तपाईंलाई सहयोग गर्न काम गरिरहेका छौं ।” नर्वेका राजदूतले नर्वेका अन्य कूटनीतिज्ञ लगायत उनीहरूका परिवारलाई पनि उद्धार गरिएको जानकारी दिएका छन् ।

युरोपियन युनियन (ईयू) ले आइतबार उद्धारका लागि समन्वयको कोसिस भइरहेको बताएको छ । इयू प्रतिनिधिमण्डलका साथै सात इयू सदस्यको सुडानमा मिसन छ। दुई फ्रान्सेली विमान आइतबार जिबुटीमा विभिन्न देशका २०० जनालाई लिएर अवतरण गरेका थिए ।

नेदरल्यान्ड्सका विदेशमन्त्री वोप्के होक्स्ट्राले केही डच नागरिकलाई फ्रान्सेली विमानबाट उद्धार गरिएको र अर्को समूह संयुक्त राष्ट्रसङ्घको काफिलामार्फत खार्तुमबाट सडकमार्गहुँदै प्रस्थान गरेको बताएका छन् । ग्रीसको विदेश मन्त्रालयले फ्रान्सको सहयोगमा सुडानबाट उद्धार गरिएकाहरूको पहिलो समूहले खेद प्रकट गरेको जनाएको छ ।

इटालीले आइतबार गरेको सैन्य उद्धारमा ‘देश छोड्न आग्रह गरेका’ सबै इटालियाली नागरिक, स्विट्जरल्यान्डका नागरिक र भ्याटिकनका प्रतिनिधिसहित अन्य २०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको थियो । बर्लिनले बुधबार जर्मन र अन्य राष्ट्रियताका नागरिकसहित तीन वटा विमानप्रयोग गरी ३०० जनालाई उद्धार गरेको जनाएको छ ।

म्याड्रिडका अनुसार ३० जना स्पेनी र ७० जना अन्य देशका नागरिक गरी १०० जना यात्रु लिएर स्पेनी सेनाको विमान आइतबार जिबुटीका लागि उडेको छ । स्वीडेनका रक्षामन्त्रीले आइतबार एएफपीसँग कुरा गर्दै कूटनीतिज्ञ र अन्य स्वीडेनी नागरिकको उद्धारका लागि १४० देखि १५० सैनिक परिचालन गरिएको एएफपीलाई बताएका छन् ।

सुडानमा रहेका १५० जना नागरिकको उद्धारका लागि आयरल्याण्ड सरकारले जिबुटीमा १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ ।

त्यस्तै, अङ्कारा आफ्ना अनुमानित ६०० नागरिकमध्ये केहीलाई खार्तूमका दुई जिल्ला र दक्षिणी शहर वाड मदनीबाट सडकमार्ग हुँदै आइतबार बिहानैदेखि उद्धारकाम शुरु गरेको तर खार्तूमको एउटा मस्जिद नजिकै ‘विष्फोट’ भएपछि उक्त स्थानबाट उद्धार गर्ने योजना स्थगित गरिएको टर्कीको दूतावासले जनाएको छ ।

इजिप्टको सेनाले गत साता सुडानबाट आफ्ना १७७ सैनिकलाई निकालेको थियो । आइतबार विदेश मन्त्रालयले ४३६ जना नागरिक स्थलमार्गबाट बाहिरिएको जनाएको छ । सुडानमा १० हजारभन्दा बढी इजिप्टवासी रहेको अनुमान गरिएको छ ।

जोर्डनले शनिबार जोर्डनका करिब ३०० नागरिकको उद्धार कार्य शुरु गरेको र संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासँग निरन्तर सहकार्य भइरहेको जनाएको छ । इराकी दूतावासका कर्मचारीले शनिबार खार्तुम छोडेको विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहाफले जानकारी दिए ।

लेबनानी अधिकारीका अनुसार आफ्ना ६० जना नागरिकले खार्तुमबाट सडक मार्ग हुँदै प्रस्थान गरेका छन् भने ८३ जना लिबियाली नागरिक पनि सुडानबन्दरगाह पुगेका छन् । ट्युनिसियाली दूतावासले सोमबारका लागि उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ, जसमा केही नागरिक साउदी जहाजमा चढेर गइसकेका छन् ।

उद्धारको तयारी गरिरहेका अन्य देशहरूमा दक्षिण कोरिया र जापान पनि सामेल छन्, जसले नजिकका देशहरूमा सेना तैनाथ गरेका छन्।

भारतको विदेश मन्त्रालयले साउदी अरेबियामा वायु सेनाका दुई विमान ‘तयारी अवस्थामा’ रहेको र नौसेनाको एउटा जहाज पोर्ट सुडान आइपुगेको बताएको छ । चिनियाँ कुटनीतिज्ञहरूलाई बाहिर निकाल्ने प्रयासमा पनि समन्वय गरिरहेको सुडानी सेनाले जनाएको छ ।इन्डोनेसियाका अनुसार खार्तूमस्थित दूतावास परिसरमा ४३ जना नागरिक आश्रय लिइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्