Logo

माओवादीदेखि किन टाढा छु म ?



—भूपेन्द्रसिंह धामी
घट्ना : १-

म सानै थिएँ । साँझको खाना खाएर बुवासँग सुतें । भाइ जन्मिएको सायद २/३ महिना मात्र भएको हुँदो हो।
ऊ मम्मीसँग सुतेको थियो। रातको कति बजेको थियो कुन्नी, अहिले मलाई ठ्याक्कै थाहा भएन्। घरको अगाडि थियो–अस्पताल। त्यसभन्दा करिब २ सय मिटर टाढा प्रहरी चौकी र अढाई सय मिटर अगाडि हाम्रो स्कूल ।

गोकुलेश्वर–यो दार्चुलाको सदरमुकाम खलंगापछिको दोस्रो चर्चित ठाउँ हो। अहिले शैल्यशिखर नगरपालिका–९ मा पर्छ।

हामीहरु सुतैकै थियौं। गोली जोडले पड्किन थाले। मम्मी र बुवाले थाहा पाउनुभएछ। उहाँहरु उठ्नुभयो। पल्लोघरमा सुतेका मेरा हजुरबुवा पनि आउनुभयो। वल्लो घरमा सुतेका मेरो ठूलो हजुरबुवा, आमा र अंकलको छोरा (दाई) सबै मेरै घरमा आए।

त्यतिबेलासम्म मैले कुनै चाल पाइनँ । निद्रामा थिएँ । केही घण्टा हुँदासम्म बन्दुक पड्केको आवाज रोकियो।

त्यसपछि मम्मीले मलाई व्युँझाउनुभयो। ‘के को आवाज हो’ भन्दै मम्मीलाई सोधें । जावफमा उहाँले ‘माओवादी र पुलिसबीच गोली हानाहान हुँदैछ, त नडराउनु है भन्नुभयोे।’

केहीबेर हामी चुपचाप रोकियौं । कोही केही बोलेनन्। फेरि मम्मी, बुवा र हजुरबुवा र आमाबीच कुरा हुन थाल्यो। बाहिर हेर्ने भन्दै दाईले जिद्दी गर्नुभयो। घरको छतमा चढेपछि प्रष्टसँग प्रहरी चौकी देखिन्थ्यो। किनकी त्योमाथि कुनै अरू घर थिएनन्। दाईले घट्ना हेर्ने अटेरी गरेपछि बुवाले पहिला आँफै भर्याङ चढेर हेर्नुभयो।

त्यसपछि पालैपालो मम्मी, हजुरबुवा, हजुरआमा र दाइले हेर्नुभयो। गोली चलेको आवाज रोकिएको थिएन्। मलाई मम्मीले काखमा बोकेर उक्त घटना देखाउनुभयो। प्रहरी चौकीको छानो पूरै जलेर रातो आगोमात्रै देखिएको थियो। गोली हाम्रै घरमा हानेजस्तो आवाज आइरह्यो।

घरमा फेरि गाईँगुँई चल्यो–कतिबेला हाम्रो घरमा बम हान्ने हुन् र हामी कसरी बच्ने? त्यस्तै अनेकन कुरा चलिरहेकै थियो। दाइ र म कोठाको छेवैमा रहेको भकारीभित्र गयौं । किनकी त्यहाँ बन्दुक चलेको आवाज कम आउँथ्यो। त्यसरी बस्दाबस्दै बिहानको करिब ४ बज्यो। बन्दुकको आवाज मत्थर हुँदै गयो। तर अस्पताल अगाडि निक्कै मान्छे बोलेको आवाज सुनिन्थ्यो।

मम्मीले डराएर अस्पताल अगाडिको हाम्रो घरको मूल ढोका खोल्न दिनुभएन्। ६ बजेतिर मात्रै ढोका खोल्नुभयो। बाहिर हेर्दा पुलिसहरु रक्ताम्मे थिए। भिडभाड बढ्न थाल्यो। अस्पताल नै भरीभराउ भयो।

छेवैमा रहेको चौलानी नदीको किनाराबाट स्ट्रेचरमा बोकेर प्रहरीका लासहरु अस्पताल पुर्याउन थालियो। घट्ना भएको प्रहरी चौकीभित्र हामीलाई छिर्न दिइएन। प्रहरी चौकीको छाना जलिसकेको थियो। भित्ताहरुमा गोली लागेका निसाना देखिन्थे। गोली र बन्दुक पनि छरपस्ट थिए । रगत जताततै भुइँमा देखिन्थ्यो।

प्रहरीका आफन्त आएर गरेको रोइकराएको दृष्यले मन नरमाइलो भयो। केही समयपछि हेलिकप्टर आएर घाइतेहरुको उद्धार गरर्यो। शवहरुको व्यवस्थापन भयो। त्यसै दिनबाट गोकुलेश्वरको पुलिस चौकी पनि बन्द भयो। केही समयपछि हाम्रो ठाउँमा माओवादीहरुको ओहोरदोहोर बाक्लियो। त्योभन्दा अगाडि माओवादीको नामै नसुनेको मैले माओवादीका अनुहार देख्न थालें ।

त्यो घट्ना भएको केही वर्षपछि हामीले चौलानी नदीभित्र रहेका २/४ वटा बन्दुक भेटायौं। किनकी हामी नदीभित्र एक–अर्कालाई छुने खेल खेल्थ्यौं ।
कहिले नदीभित्र साबुन लुकाउने त कहिले सिक्का (पैसा) लुकाएर एकअर्कालाई खोज्न लगाउने। नदीभित्र आँखा खोलेर ती सामाग्री कहाँ राखेको छ? खोज्नुपर्दथ्यो । सोही क्रममा हामीले बन्दुक भेट्टायौं। ती बन्दुक हामी चलाउन खोज्थ्यौं। एकले अर्कालाई ताक्थ्यौ पनि। तर, बन्दुक चल्थेनन्। पानीभित्र निकै समय रहेका हुनाले सायद खिया लागेका थिए।

नदीमा गएको बेला हामी दिनभरजसो तिनै बन्दुकसँग खेल्थ्यौ। साँझ पानीभित्र नै छोडेर जान्थ्यौ। हामीले बन्दुक पाएको कुरा यदी माओवादीले थाहा पाएको भए सायद लगेर जान्थे।

घट्ना : २
उतिबेला स्कुल पढ्दा मम्मीले मलाई धेरैजसो कुट्नुहुन्थ्यो। किनकी म किताब नपढ्ने। धेरै समय नदीमा पौडी खेल्दै बिताउथें । चिसो भएपछि नदी किनाराको बालुवा र ढुङ्गामा घाम ताप्ने। फेरि तात्यो, अनि पानीमा पस्ने।

चिसोको समयबाहेक अन्य समय हामीहरु यसरीनै दिन बिताउथ्यांै । स्कूल गयो। हाजिरी लगायो। एक÷दुई कक्षा पढ्यो अनि फेरि कक्षाबाट भागेर नदीतिर नै दौडिन्थ्यौं ।

यतिसम्म गथ्र्यौकी बर्खायाममा नदीमा बाढी आएको बेला कसले नदी तर्नसक्ने भन्ने प्रतिष्पर्धा नै हुन्थ्यो। यो क्रम करिब एसएलसी दिदाँसम्म चलिरह्यो। त्यही कारणले घरमा धेरैजसो म मम्मीको हातबाट कुटाइ खाइरहन्थें । एकदिन साँझ मम्मीले मलाई कुट्ने चाल पाएपछि म भागेर माथिको घर गएँ । करिब १ घण्टा जतिको उकालो हिँड्नुपर्दथ्यो ।

म यसरी मम्मीले कुट्ने चाल पाएको दिन भागेर माथिको घर गएर बस्थें । त्यहाँ हजुरआमा, अंकल, आन्टीहरु बस्नुहुन्थ्यो। साँझ उतै खाना खायो, सुत्यो। बिहान फेरि खाना खायो, अनि आयो।

यसो गर्दा मम्मीको कुटाइ भेटिन्थेन। उहाँको रिस पनि कम हुने। कुनैदिन माथिको घरबाट आउने बेला दुध, दही, मोही, सागपात वा दाउरा लिएर आउथें । त्यसो गर्दा मम्मीले रिसाउनेबाहेक कुट्नुहुन्थेन।

सोही क्रममा एकदिन म माथिल्लो घर गएको थिएँ, बिहान अंकलसँगै तल फर्किदै थिएँ। तल्लो घरनजिकै पुग्ने बेला अंकलले भिडभाड देखेर केही चाल पाउनुभएछ । मलाई तल केही भएको हुनसक्छ, नडराएस है भन्नुभयो।

हामी त्यहाँनजिकै पुग्यौं । सडकको बीच चोकमा एक जना मानिसलाई छातिमा ३ वटा ठूला घाउ बनाइ खुकुरीले हानेर मारेको थियो। बुझ्दा प्रहरी रहेछन।

एक जना हाम्रै गाउँले सोही दिन साँझमात्रै घर पुगेका रहेछन। माओवादीहरुले उनी घर आएको कुरा कुरा थाहा पाएर उनलाई राति नै घरबाटै थुतेर खुकुरी प्रहार गरी बीच सडकमा छोडेका रहेछन्। मारेर त्यहाँ राखिएको त्यो दृष्य मेरो मानसपटलमा अझैपनि खेलिरहन्छ।

घट्ना : ३

प्रहरी चौकी बन्द भएपछि त्यहाँ माओवादीहरुको ठूलो मात्रामा ओहोरदोहोर हुन थाल्यो। हाम्रो विद्यालयमा पनि रातो पोशाक अनिवार्य गराए। बिहानी समयको हाम्रो प्रार्थनामा पनि उनीहरु आफ्नै तालिम दिनथाले।

संस्कृत शिक्षाका किताबहरु जलाइए। समय–समयमा विभिन्न कार्यक्रमहरु हुन थाले। ठूलो संख्यामा उनीहरुका जनमुक्ति सेना आउँथे । कार्यक्रमको समय माओवादीहरुको धेरै भीड हुन्थ्यो।

अलि ठूला नेताहरु खाना खानका लागि हाम्रो घरमा आउन थाले। कोही महिला नेताहरु त रातिपनि सुतेर जान्थे। वर्षमा ४/५ पटक खलंगाबाट नेपाली सेनाको ठूलो समूह हतियारसहित गस्ती आउँथ्यो। त्यतिबेला त्यहाँबाट माओवादीहरु भागिहाल्थे। आर्मीहरु १/२ दिन बस्थे, फेरि गईहाल्थे।
त्यसपछि फेरि माओवादीहरुको ओहोरदोहोर भइरहन्थ्यो। एकपटक करिब ३०÷३५ जना आर्मीको समूह हाम्रो घरको छतमा नै रात बिताउने गरेर बस्यो।

त्यो सबै समूहको लागि घरमा बुवालाई साँझको खाना पकाउन भनियो। त्योपनि रोटी। घरमा हामी सबै डराएका थियौं । मम्मीले राति अबेरसम्मै रोटी र तरकारी पकाउनुभयो।

त्यो रात हामी सुत्न सकेनौं । घरमाथि छतमा उनीहरु थिए। कतैबाट माओवादीहरुले गोली चलाएमा हामी त मारिन्छौं भन्ने डरैडरमा रात काटियो। तर, भाग्यवश त्यस्तो केही भएन। बिहानै उनीहरु आफ्नो गन्तव्यमा गए।

यसरी कहिले माओवादीहरुलाई गाँस र बासको ब्यवस्था गर्नुपर्ने त कहिले आर्मीहरुलाई। त्यतिबेला आर्मी र माओवादीको सबैलाई डर लाग्थ्यो। उनीहरुले जे भनेको छ त्यही मान्नुपर्ने। म त सानै थिएँ । तर, माओवादीहरुले स्कुलबाटै दाईहरुलाई समातेर १ हप्ताको लागि आफूसँगै गस्तिमा लग्थ्यो।

त्यस्तै आर्मीहरु आउँदापनि धेरै डराउथ्यौं। किनकी उनीहरुले माओवादी कता छन्? कहिले देखेछस? कता देखिस? किन भटिस जस्ता धेरै कुरा गरेर बुझ्न खोज्थे।

केही कुरामा उनीहरुलाई शंका लागे कुटेर जान्थे। यसैक्रममा एकदिन बुवालाई पनि एक आर्मीले एकान्तमा लगेर माओवादीका बारेमा सोध्न थाले। त्यतिबेला डरले स्थानीय कोही पनि माओवादी देखेको कुरा आर्मीलाई बताउदैन थिए। तर बुवाले देखेको भनेर आर्मीलाई बताए।

आर्मीले अन्य के–के कुरा गरेर बुवालाई कुट्न थाले। यो घटना बुवा, आर्मी र मबाहेक कसैले थाहा पाएको थिएन। बुवालाई आर्मीले कुट्दै गर्दा म रोएर बुवाको खुट्टामा लड्बडिदा मात्र आर्मीले बुवालाई कुट्न छोडेको थियो। यसरी आर्मीबाट स्थानीयहरुले पटक–पटक दुःख पाएका थिए।

घट्ना : ४

बुवा साझा प्रकाशनमा खरिदार हुनुहुन्थ्यो। उहाँ महेन्द्रनगर कार्यालयमा कार्यरत हुँदा म जन्मिएको थिएँ । म जन्मिएको केही समयपछि बुवाको सुर्खेत सरुवा भयो। हामीहरुपनि बुवासँगै सुर्खेत बस्न थाल्यौं ।

बुवाभन्दा माथि एक जना सुब्बा हुनुहुन्थ्यो, कार्यालय प्रमुखका रूपमा। उहाँ एकपटक बुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिएर घर बिदामा जानुभयो। उहाँले घर गएपछि कार्यालय बुवाले हेर्नुहुन्थ्यो।

दिनभर साँझा प्रकाशनमा बिक्रि भएका किताबहरुको पैसा जम्मा गरेर त्यहीँ दिन साँझ वा अर्को दिन बिहान बैंक खुलेपछि रकम जम्मा गर्नुहुन्थ्यो।
सोही क्रममा एकदिन बिक्री भएका किताबहरुको पैसा गोजीमा राखेर कार्यालय बन्द गर्न खोज्दा त्यहाँ माओवादीका केही कार्यकर्ताहरु जम्मा भएर बुवालाई हातहतियार देखाएर मार्ने धम्कि दिए। केही घण्टा नियन्त्रणमा लिएर पैसा लुटेर गए।

सोही साँझबाट बुवाको केही मानसिक सन्तुलन गुम्यो। उहाँले त्यसको केहीदिन पछि कार्यालयबाट नै राजीनामा दिएर जन्मघर फर्किनुभयो। परीणामस्वरुप उहाँ अहिलेसम्म मानसिक रोगको औषधी सेवन गरिरहनुभएको छ। मेरो र भाइको सहरमा पढेर शिक्षित भइ उचाई लिनसक्ने बाटो बन्द भएको जीवनभर महशुस हुनेछ ।
–––––––––––––––––––––––––
बच्चै हुँदा मेरो मानसपटलमा नै जीवनभर झस्काइरहने यी घटनाहरुले मलाई सोही समयबाटै पाठ सिकाएको छ। र, त्यो पाठको नतिजाबाट जन्मेको हो–यो लेखको शीर्षक। उमेर बढ्दै जाँदा कम्युनिष्टको बारेमा सकारात्मक पढियो, नकरात्मक पढियो।
तर, मेरो त्यो सानै उमेरका घटनाहरुले मेरो मानसपटललाई यसरी खडा ग¥र्यो, यी त मैले भोगेका घट्नाहरुको सामान्य उदाहरणमात्र हो। ब्यक्तिपिच्छै घट्नाहरु फरक होलान्, भोगाइ फरक होलान्। परीणाम कसैलाई कोही राम्रो, कसैलाई कोही।
अन्तमा कसैले प्रभावमा पारेर र कसैलाई प्रभावमा पार्न यो लेख लेखेको कदापी होइन। मैले भोगेका र देखेका घट्नाहरु मात्र हुन्। उल्लेखित घट्नाहरु प्रमाणित गर्नसक्ने सार्मथ्य राख्छु।
––––––––––––––––––––––––––
माथि उल्लेखित घट्ना नम्बर १ : विसं २०५८ मंसिर ११ गते दार्चुलाको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा माओवादी आक्रमण हुँदा ८ जना नेपाल प्रहरीको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्