काठमाडौं, वैशाख २१ । सुनको मूल्यले नेपाली बजारमा आज बिहीबार फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।
यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।