Logo

पशुमा लम्पी स्कीनको सङ्क्रमण



तम्घास, २१ वैशाख । गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान त्रसित भएका छन् ।

रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने भयो । त्यसको केही समयपछि घाँटी र शरीरका अन्य भागमासमेत खटिरा तथा फोका उठ्न थाले । त्यसको पनि केही दिनपछि गाई म¥यो । पोखरामा गाईको रगत परीक्षण गराउँदा लम्पी रोग भएको पुष्टि भयो ।

“बिहान र बेलुका आठ/आठ गरी दैनिक १६ लिटर दूध दिने गाई म¥यो”, उनले भने । अहिले उक्त गाउँका मात्रै ३२ गोठमा रहेका ४५ गाईमा लम्पी रोगको सङ्क्रमण देखिएको स्थानीय मेघराज गिरीले जानकारी दिए । उनले आफ्नो गोठमा रहेका बाच्छी र गाईमा नै सङ्क्रमण देखिएको तथा उपचारपछि माउ सामान्य अवस्थामा रहे पनि बाच्छी भने गम्भीर अवस्थामा नै रहेको बताए ।

लम्पीको सङ्क्रमण हुँदा गाईले घाँस, पानी नखाने, दूध घटाउने, शरीरमा खटिरा उठ्ने लगायतका लक्षण देखा पर्ने गिरीको भनाइ छ । रोग नियन्त्रणका लागि भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र, रुरुक्षेत्र गाउँपालिका र हेफरले पहलकदमी लिए पनि रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसक्दा आफूहरु त्रसित भएको उनले बताए ।

अहिले जिल्लाभर पशुमा यो रोग बढी मात्रामा देखिएको छ । भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत काफ्लेका अनुसार अहिले जिल्लाको मदाने, गुल्मीदरबार, रुरुक्षेत्र लगायतका ठाउँका पशुमा लम्पी रोग देखा परेको छ । यो रोग नयाँ भएकाले सुरुमा पहिचान गर्न र पछि उपचार गर्न गाह्रो भएको काफ्लेले बताए ।

रोगको निदानका लागि कार्यालयसँग पर्याप्त खोप नभएको उनले बताए । लम्पी रोग लाग्नै नदिनका लागि पशुको सरसफाइमा ध्यान दिने, झिँगा तथा अन्य जनावरको आक्रमणबाट पशुलाई जोगाउन, पशुलाई चराउन लैजादा विशेष ध्यान दिने लगायतका सुरक्षाका उपाय अपनाउन काफ्लेले आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot