Logo

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन



काठमाडौं, वैशाख २४ ।  मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्।

एसियन ट्रेकिङका म्यानेजर सञ्जय बरालका अनुसार पर्यटक आगमनको संख्या सुधारोन्मुख देखिएको तर मुलुक भित्रिएका पर्यटकको संख्याको आधारमा उनीहरूको गतिविधि अपेक्षितस्तरमा चलायमान छैन। अहिले पर्यटक आगमन संख्या हेरेर चित्त बुझाउन सकिएला तर पर्यटकीय गतिविधि नबढ्ने हो भने के गर्ने भन्ने भएको छ। व्यवसायीलाई अहिलेको सबैभन्दा ठुलो समस्या भनेकै खर्च नगर्ने पर्यटक भित्रिनु हो, उनीहरूले खर्च नगरेपछि संख्या वृद्धि हुनुको केही अर्थ छैन,’ बरालले भने ।

पछिल्लो समय कोभिड महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार तथा सम्बन्धित निकायहरू अग्रसर भएर लागिरहेका छन्। संख्याका हिसाबमा पर्यटकहरूको आगमन राम्रो हुँदै आएकाले सरकारी अधिकारीहरू सन्तोषजनक भएको धारणा दिइरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साही छैनन्। अहिले पर्यटन क्षेत्रलाई नयाँ दृष्टिबाट हेर्ने उपयुक्त मौका भएको बताउँदै बरालले भने ‘अहिले सरकार र सम्बन्धित निकायका लागि पर्यटन क्षेत्रलाई नयाँ कोणबाट हेर्ने उपयुक्त समय हो। कोभिडका कारण थलिएको यस क्षेत्रको दीर्घकालीन विकासका लागि के चाहिएको हो, त्यसतिर ध्यान दिनुपर्छ। पुरानै ढर्रामा पर्यटन क्षेत्रलाई निरन्तरता दिने हो भने पर्यटन क्षेत्रको विकास हुँदैन।’

उनी थप्छन्, ‘यो बेला संख्यामा भन्दा पनि गुणस्तरमा जोड दिनुपर्छ भन्ने कुरामा ध्यान दिएर सोहीअनुरूप काम गरेको खण्डमा त्यसले यस क्षेत्र चलायमान हुन सक्छ। दीर्घकालीन रूपमा यसले सकारात्मक परिणाम ल्याउँछ। हामी सधैं गुणस्तरीय पर्यटक ल्याऊ भनेर कहिलेसम्म भनिराख्ने? यसका लागि व्यवसायीहरूले पनि सरकारसँग सहकार्य गरेर बढ्नुपर्छ। होइन भने सरकार संख्या गन्ने र व्यवसायी पसल रुङ्नेबाहेक कसैलाई फाइदा हुन्न।

विवेकपूर्ण तवरले सोचेर काम गर्ने यो राम्रो मौका पनि हो।’ उनले सरकारले पर्यटन पुनरुत्थान तथा विकासका लागि कुनै पनि कार्ययोजना तयार गरी लागु गर्ने भनेर नीतिगत घोषणा गरिरहँदा ती नीति तथा कार्ययोजना लोकप्रियताका हिसाबले भन्दा कार्वान्वयन हुने तरिकाले गर्नुपर्ने उनको धारणा छ। सरकार नीति नियम बनाउने तर कडाइका साथ लागु नगर्ने र कतिपय व्यवसायीहरू दीर्घकालीन रूपमा नसोची व्यवहार गर्ने भएकाले पनि पर्यटन व्यवसायले गुणस्तरीय रूपमा अघि बढ्न नसकेको उनको तर्क छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot