Logo

महेश बस्नेतद्धारा “मिसन इलेक्सन, टार्गेट न्यु जेनेरेशन” अभियान घोषणा



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ‘मिसन इलेक्सन, टार्गेट न्यू जेनेरेशन’ अभियानको घोषणा गरेका छन् । उनले अबका दिनमा राष्ट्रिय युवा संघ नेपालमा नेता बन्नको लागि हाइट र लाइट हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकलाई आज (सोमबार) सम्बोधन गर्दै नेता बस्नेतले संघका नेता तथा कार्यकर्तामा रचनात्मक र सिर्जनात्मक रुपमा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् । योग्यता, क्षमता र दक्षताका आधारमा आफ्नो हाइट बनाउनुपर्नेमा जोड दिँदै उनले उक्त हाइटले मुलुकको विकास र समृद्धिको यात्रामा लाईट दिन सक्नेमात्र अबका दिनमा संघको नेता हुनसक्ने उद्घोष गरे ।

विगतमा नेताको वरिपरि घुमेर र पहुँच देखाएकै भरमा नेता बनेको संकेत गर्दै उनले अब संघको नेता बन्न सिर्जनसिलता तथा गतिशिलता अनिवार्य रहेको सुनाए । उनले भने,गौतमबृद्धको हाइट र लाईटका कारण उनलाई संसारले चिने । त्यस्तै अबका दिनमा नेतालाई चाकरी गर्ने, उपहार दिएर संघको नेता हुन पाउने छैनन् । राष्ट्रिय युवा संघमा जसले हाइट वृद्धि गर्छ र त्यो हाइटबाट जसले लाईट दिन्छ, त्योमात्र अब नेता बन्छ । हाइट पनि नबनाउने र लाईट पनि नदिने अनि नेताको वरीपरि घुम्ने व्यक्ति अब संघको नेता बन्न सक्दैन । संघका नेता तथा कार्यकर्ताले पद होईन भूमिका खोज्नेछन्, जसले पद खोजेर आउनेछ ।’

उनले क्षमता, योग्यता र दक्षतालाई हेरेर पदीय जिम्मेवारी दिने उद्घोष गर्दै ‘मिसन इलेक्सन, टार्गेट न्यु जेनेरेशन’ भन्ने अभियान चलाउने घोषणा गर्ने दोहोर्याए । २०८४ सालको निर्वाचनकेन्द्रित भएर एमालेले मिसन ग्रास रुट सञ्चालन गरेको उल्लेख गर्दै उनले पार्टीको सोही अभियानको उद्देश्य पुरा गर्ने गरी संघ अगाडी बढ्नुपर्नेमा जोड दिए ।

२० लाख युवालाई समेट्ने संघको लक्ष्य रहेको सुनाउँदै बस्नेतले अबको चार महिनामा चार लाख सदस्यता वितरण गरी नवयुवाहरुलाई संघमा आवद्ध गराउने जिम्मेवारी वर्तमान केन्द्रीय कमिटीमा रहेको बताए ।

सो क्रममा उनले नेपाललाई नियोजित रुपमा अराजकतामा लैजानुपर्छ भनेर नवउदारवादीको जन्म भएको टिप्पणी गरे । उनले नेपालमा भ्रष्टाचार, अनियमितता, देशलाई विखण्ड गर्ने, जातीय द्वन्द्व फैलाई मुलुकलाई टुक्र्याउने लगायतका गतिविधिहरु गरी अन्तर्राष्ट्रिय शक्तिहरु लागिपरिरहेकाले त्यसलाई रोक्न संघको काँधमा राष्ट्रियताको ठूलो जिम्मेवारी रहेको बताए ।

देशलाई विखण्डनको बाटोमा लैजान खोज्ने दलाल तथा खेतालाहरुलाई संघले तह लगाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कांग्रेस दलाल नोकरशाही पुँजीवादी बनेको आरोप लगाए । यस्तै, उनले बौद्धिक अराजकले मिडिया र सामाजिक सञ्जालको प्रयोग गरी अराजक गतिविधिहरु भइरहेको पनि चिन्ता व्यक्त गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot