Logo

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न



काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा भीडभाड गर्नसमेत निषेध छ । चारैतर्फ निषेधित क्षेत्रको बीचमा रहेको प्रतिनिधिसभा भवनभित्रै सोमबार प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले विरोधका नाममा अश्लील आक्रोश पोखे ।

उनले सभामुख देवराज घिमिरेले संसद् बैठकमा भ्रष्टाचारका विषय बोल्न खोज्दा समय नदिएको भन्दै कम्मरमाथि लगाएको सर्ट र सेन्डो खोल्दै विरोध गरेका हुन् । उनको विरोधको शैलीलाई ‘अश्लील आक्रोश’ भन्दै सर्वत्र आलोचना भइरहेको छ भने सिंह विवादमा तानिएका छन् । सिंह स्वतन्त्र सांसद हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा संसद् बैठकको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमबारे उल्लेख छ । सो नियमको ‘धज्जी उडाउँदै जनताबाट निर्वाचित सांसदले संसद् भवनभित्रै बैठक चलिरहँदा कम्मरमाथिको कपडा खोलेको’ आरोप छ ।

सिंहले शरीरमा लगाएको कपडा खोल्दै अघि बढेपछि सभामुख घिमिरेले सांसद सिंहलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गराएका थिए । नियम २१ को खण्ड ‘घ’मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने’ उल्लेख छ ।

सिंहले बोल्न नपाएको आक्रोशमा धमाधम कपडा खोल्दै गएपछि सभामुख घिमिरेले सिंहलाई अश्लील व्यवहार प्रदर्शन नगर्न चेतावनी दिएका थिए ।

सिंहलाई सभामुखले संसद्को नियमअनुसार शिष्ट ढंगबाट आफ्नो कुरा राख्नेतर्फ विधिको पालना गर्न पटकपटक आग्रह गरेका थिए । सभामुख घिमिरेको चेतावनीपछि सिंहले आफूले खोलेको कपडा पुनः लगाएका थिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् । सभामुखको सो चेतावनीलाई पालना गर्दै सिंहले आफूले खोलेको कपडा लगाउन सुरु गरेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot