Logo

३२ सय परिवारलाई बिजुली : प्रधानमन्त्री दाहालद्वारा उद्घाटन



काभ्रेपलाञ्चोक, २६ बैशाख । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको तीन हजार दुई सय परिवारलाई आजदेखि केन्द्रीय विद्युत् उपलब्ध गराइएको छ।

सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताए। “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौतासमेत गर्नेछु”, उनले भने।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ९५ प्रतिशत नेपाली विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिई उज्यालो उपभोग गरिरहेको उल्लेख गर्दै दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताए।

स्थानीय जनप्रतिनिधिले अवस्थामा महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेकपाको सरकारले एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए। उनका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot