Logo

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ : शिक्षामन्त्री राई



काठमाडौं,२९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‍मा प्रस्तुत गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताए ।

‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषद्‍मा पुग्दै फिर्ता आउने गरेको रहेछ । अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ, मन्त्री राईले भने, तर्जुमाका दृष्टिकोणबाट भएका कमी कमजोरीहरु हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरू प्रक्रियामा रहेकाले हुनसक्छ ।

विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्थामा थप सुधार गरिने मन्त्री राईले बताए । यो मनोपरामर्शसम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ,’ उनले भने ।

मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानूनी प्रक्रियाको चरणमा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्