Logo

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्न आवश्यक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताएकी छन् ।

उनले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको सञ्चार भइरहेको उल्लेख गरिन् । “भौगोलिक अखण्डता र देशप्रेमप्रतिको अटल विश्वास प्रदर्शन भइरहेको छ, नेपाली भूभागको यस विषयलाई व्यावहारिकरुपमा निष्कर्षमा लैजान इतिहासका प्रसङ्गलाई हामीले फेरि एकपटक उच्च महत्वका साथ स्मरण गर्नुपर्छ,”– पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

उनले दुई देशबीचको भौगोलिक सिमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने खाँचो आवश्यकता औाल्याउँदै यस्ता कार्यले दुई देशबीच सदियौँदेखि रहिआएको जनविश्वासका रुपमा रहेको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

चार सय ७६ पृष्ठको उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य, तथ्याङ्क र प्रमाण समेटिएको छ । एक हजार एक सय मूल्य रहेको उक्त पुस्तक छ खण्ड र ३२ अनुच्छेद रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot