Logo

राष्ट्रपति अस्वस्थ भए उपराष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्न एमाले नेता रिमालको माग



काठमाडौं,२ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएको अवस्थामा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नुपर्ने बताएका छन् ।

सरकारले संसद्मा आगामी ५ गते यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहँदा राष्ट्रपति पौडेल अस्वस्थ रहेको कारण उनले नीति तथा कार्यक्रम बाचन गर्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बाचन गर्ने तयारी गरेपछि रिमालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले संविधान नमिच्न आग्रह गर्दै उपराष्ट्रपतिलाई पनि केही अधिकार प्रदान गर्नुपर्ने बताएका हुन् ।

‘संविधान मिच्ने काम नगरौं !  ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भनिएको छ । त्यसको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक÷कानुनी व्यवस्था छ’, उनले फेशबुकमा लेखेका छन्, ‘तर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना । अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे ?’

उपराष्ट्रपति पनि उपलब्ध नहुने अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने व्यवस्था भएको समेत उल्लेख गरेका छन् ।

‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्नेगरी कार्यवाहक तोकौं । यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौं । तर संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम नगरौं’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot