काठमाडौं, जेठ ३ । प्रख्यात आरोही कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले यही आज विहान ८ः३० मा सगरमाथाको सफल आरोहण गरेका हुन्। उनी सेभेन समिट ट्रेकबाट आरोहणमा गएका थिए ।
उनले सन् २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए। त्यसयता उनले निरन्तर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्दै आएका छन्। उनले गत वर्ष वैशाख २४ मा २६ औंपटक आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका थिए ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले पहिलो पटक १९९४ को मे १३ मा सगरमाथा आरोहण गरेका थिए।
गत आइतबार मात्रै अर्का आरोही पथप्रदर्शक ४६ वर्षीय पासाङ दावा शेर्पाले २६ औँ पटक सगरमाथाको आरोहण गरेर कामिरिताकै बराबरीमा पुगेका थिए । कामिरिताले २७ औँ पटक आरोहण गरेसँगै पासाङ २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् ।