Logo

प्रधानमन्त्रीको भारत भ्रमणलाई नितान्त सद्भावना भ्रमणको रूपमा लिनुपर्छ : डा. उद्धव प्याकुरेल (भिडिओसहित)



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने कार्यतालिका तय भएको छ । २०७९ पुष १० गते नेपालको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका प्रचण्ड ढिलो गरी दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आगामी जेठ २० गते नेपाल फर्कने छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ ।

देशमा रहेको आर्थिक संकटलाई सम्बोधन गर्न, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, कृषि क्षेत्रमा रहेका समस्या समाधान, सीमा विवाद समाधानलगायतका क्षेत्रमा प्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धीमूलक हुने आशा गरिएको छ । यसैबीच रिपोर्टर्स क्लब नेपालले आज (आईतबार) प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा साक्षात्कारको आयोजना गरेको ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको आर्थिक विकास र समृद्धिका लागि दुई देशबीचका प्रधामन्त्रीबीच सहमति हुन आवश्यक रहेको औंल्याए । भारतले नेपालको विकास र समृद्धिको पक्षमा विगतमा पनि सहयोग गरिरहेकोले प्रधानमन्त्री दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप उचाईँमा पुग्ने धमलाको विश्वास छ ।

परराष्ट्रविद् डा. उद्धव प्याकुरेलले नेपाल–भारतबीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरीय भेटवार्तामात्रै सम्भव नभएको भन्दै त्यसको अलावा दुई देशबीच रहेका संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले भने,‘नेपाल र भारत यस्ता देश हुन, जसको बीचमा दुई दर्जनभन्दा बढि संयन्त्रहरु दैनिक रूपमा काम गरिरहेका हुन्छन् । परराष्ट्रमन्त्रीस्तरीय जोइन्ट कमिटीदेखि भन्सारको अधिकृत तहसम्म पनि विभिन्न संरचनाहरु काम गरिरहेका हुन्छन् । तर, हामी जहिलेपनि जुनसुकै मिडिया पनि र हामी आफूलाई विज्ञ भन्नेहरु पनि प्रधानमन्त्री भारत जाने बेला भएपछि चाहीँ मेनु लिएर ठिक्क परेका हुन्छौं । यो यो गरिदिनुपर्छ भन्छौं, मलाई लाग्छ समस्या त्यहीँ छ।’

अहिलेसम्म प्रधानमन्त्रीस्तरीय भारत भ्रमण ठोस नीति नभएका कारण सफल हुन नसकेको उनको भनाई छ । भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीले भारत भ्रमण उत्साहजनक र सफल भएको बताउने गरेपनि आम नागरिकको नजरमा त्यो असफल भइरहेको उनको दाबी छ ।

‘प्रधानमन्त्री लेभलमा नेपाल र भारतको सन्दर्भमा कुनैपनि सन्धि, सम्झौता र सहमतिमा डिल गर्ने भन्दा पनि उहाँ साँक्षी बसेर अरुले गरेका कामहरु प्रस्तुत गर्ने सन्दर्भ हुन्छ । त्यो सन्र्दभ नबुझ्दा हाम्रा कतिपय कुराहरु अपुरो भइरहेका र हरेक प्रधानमन्त्री फर्किंदा एकदमै सुमधुर सम्बन्ध भयो, राम्रो भयो भनेर फर्किनुहुन्छ तर पछि कार्यान्वयनमा जाँदाखेरी केहीपनि नहुनुको कारण चाहीँ हामीले यी कुराहरु गुमाएको कारणले हो,’– उनले भने ।

नेपाल र भारतको अहिलेको अवस्था के हो ? सम्बन्ध विग्रेको हो कि सुध्रेको हो भन्ने कुरा अहिलेसम्मका प्रधानमन्त्रीले छलफल नै नगरेको उनको भनाई छ । ‘भारत भ्रमणबाट फर्केर आउँदाखेरी नेपाल र भारतको बीचमा कुनै समस्या नै छैन भनिरहनु भएको हुन्छ । तर, समस्याका थुप्रो सधैं छ । फेरि अर्कोपटक जाँदाखेरी त्यही पोकोहरु खुलाइरहेको हुन्छौं,’– उनले भने ।

प्रधानमन्त्रीले अबको भारत भ्रमणको सम्बन्धको सन्दर्भमा पछिल्ला काम गर्ने वातारवण बनाएर आउन आवश्यक रहेको उनले बताए । नेपाल र भारतबीच वर्षौ लगाएर छलफल गर्न आवश्यक रहेको विषय रहेकाले अहिलेको प्रधानमन्त्रीस्तरीय भ्रमणलाई नितान्त सद्भावना भ्रमणको रुपमा लिन आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्