Logo

जनप्रतिनिधिको मनोमानीले शान्ति सुरक्षामा नै चुनौती



बारा, जेठ २१ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मनोमानीले गर्दा जिल्लाको शान्ति सुरक्षादेखि आपसी सद्भाव बिगार्ने काम भएको पाइएको छ।

पालिका प्रमुखले गर्दै आएका एकलौटी निर्णयले असन्तुष्ट बनेका विद्यार्थीसहित अभिभावक प्रदर्शनम उत्रनु, गौशालाको भौतिक संरचना भत्काउनु, बजेट रकम नदिएको भन्दै उपप्रमुखले पालिका कार्यालयमा तालाबन्दी गर्नु र वडाध्यक्षले निजी स्वार्थको लागि व्यक्तिगत सम्पत्ति तोडफोड गराउने कामले जिल्लाको शान्ति सुरक्षा मात्र होइन आपसी सद्भाव बिगारेको हो। तर स्थानीय प्रहरी, प्रशासन निरीह बनेको पीडितहरूको आरोप छ।

वैशाख १८ गते व्यक्तिगत रिसइवी साध्न जितपुर–सिमरा उपमहानगपालिका–७ का वडाध्यक्ष सुनिल गुप्तले जितपुर निवासी राजु गिरीको घरमा लुटपाटको प्रयास गर्नुका साथ साथै घरअघि रहेको सहरी विकास मन्त्रालयको लाखौं बजेट रकम खर्चेर ढलान गरिएको बाटो नै खनेर निजी र सार्वजनिक सम्पत्तिलाई हानि–नोक्सानी गरेका छन्।

पीडित गिरिले वडा अध्यक्ष गुप्तासहित ६ जनामाथि जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा आपराधिक उपद्रवमा मुद्दा दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाराले आपराधिक उपद्रव मुद्दामा जेठ ४ गते वडाध्यक्ष गुप्तासहित ६ जनालाई नै पक्राउ पुर्जी जारी गरेको थियो।

वडाध्यक्ष गुप्ता, उनका भाइ अनिल गुप्ता, मनोज गुप्ता, सुनिल साहलगायत ६ जनाविरुद्ध प्रहरीले पक्राउपुर्जी जारी गरेको बाराका प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले बताएका छन्। प्रहरीले मनोज गुप्ता र सुनिल साहलाई नियन्त्रणमा राखेर अनुसन्धान गरेको थियो भने वडाध्यक्ष र उनका भाइसहित फरार रहेका अन्य चारजनालाई खोजिरहेको दाबी गरिएको थियो।

एमालेबाट वडाध्यक्षमा निर्वाचित वडा अध्यक्ष गुप्ताले फरार रहेकै अवस्थामा जेठ १५ गते काठमाडौंको बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

यता बाराका प्रहरी उपरक्षक होवीन्द्र बोगटीले गुप्ता आपराधिक उपद्रव मुद्दामा फरार रहेको तर कुन नेतालाई भेटेको कुरा आफूलाई थाहा नभएको बताएका छन्। गुप्ता भागेर काठमाडौं गएको जानकारी भने आएको उनले बताए।

आपराधिक उपद्रव मुद्दामा अदालतले दोषी ठहरिएमा तीन बर्षसम्मको कैद सजाए गर्न सकिने कनुनी व्यवस्था छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot