Logo

राष्ट्रिय योजना आयोगले पायो पूर्णता



काठमाडौँ, २१ जेठ । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिईन्। यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुङ्गानासँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) मा समेत काम गरेको अनुभव छ । उनले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेका छन् ।

यसअघि आयोगको सदस्यमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेको छ। नवनियुक्त सदस्य ढुङ्गानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाउएका छन् ।

यसअघि नियुक्त भइसकेका सदस्यमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्याङ्क साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot