Logo

विपद प्रतिकार्यका लागि जनशक्ति तयार



नेपालगञ्ज, २४ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ । उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

“हामीले चार सय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ, जसले विपद्का बेला खोज तथा उद्धारलगायत काम गर्न सकोस”, उनले भने, “उनीहरुका लागि आवश्यक सबै प्रकारका तालिम प्रदान गरिएको छ ।”

उक्त दुई वडा भूकम्पको उच्च जोखिममा रहनाका साथै आगलागी वा अन्य विपद्का घटना हुँदा आवतजावत गर्न कठिनाइ हुने क्षेत्रका रुपमा लिइएको छ । ती वडामा भूकम्प तथा आगलागीका घटनामा समुदायमा चेतना जगाउने काम र भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यासलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका परामर्शदाता डा. सुजन मल्लले विपद्मा प्रतिकार्य क्षमता बढाउन नसेकेको बताए । विपद्का लागि बेग्लै चार तहको संयन्त्र आवश्यक परेको र यसका लागि स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

“राज्यको जलवायु परिवर्तनमा बजेट छ तर विपदमा बजेट कम छ” डा. मल्लले भने । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्लाई उपमहानगरका तर्फबाट उच्च प्राथमिकता दिइएको जानकारी दिँदै यसमा नागरिकको पनि दायित्व रहेको उल्लेख गरे।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत शिव सुवेदीले बीमामार्फत पनि भूकम्पीय जोखिम कम गराउन सकिने चर्चा गर्दै सबै सरोकार भएका समुदाय विपद्मा चनाखो हुन आवश्यक रहेको बताए । विपद्का लागि उपमहानगरपालिकाले विपद् राहत कोषमा रु ८० लाख बजेट विनियोजन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot