Logo

बन्द प्रसूति सेवा खुलाउन पहल



बैतडी, जेठ ३२ । स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ ।

गर्भवतीले खानेपानीको पाइप छोएमा मुहान सुक्ने डरले मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट पानी भर्न नपाउँदा पञ्चेश्वर स्वास्थ्य चौकीले प्रसूति सेवा बन्द गरेको थियो । प्रसूति सेवा बन्द भएको विषयमा समाचार प्रकाशित भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ ।

समाचार प्रकाशित भएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले गाउँपालिकालाई तत्काल प्रसूति सेवा सुचारु गर्ने व्यवस्था मिलाउन समन्वय गरेका छन् । स्वास्थ्य चौकीलाई पानीको धारा दिन डिभिजन खानेपानी कार्यालयसँग प्राविधिक पठाएर सम्भाव्यता अध्ययन गरिदिन अनुरोध गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

अध्यक्ष चन्दले भने, “बन्द भएको प्रसूति सेवा चलाउन तत्कालका लागि ट्याङ्कर बोलाएका र दीर्घकालीन समाधानका लागि बस्तीमा जाने खानेपानीको पाइपबाट धारा जोड्दा पानीको चापमा असर नपर्ने गरी धारा जोड्न सम्भाव्यता अध्ययनका लागि खानेपानी कार्यालयसँग प्राविधिक पठाइदिन अनुरोध गरेका छौँ।”

पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य स्वास्थ्य चौकीछेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ। बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए।

बस्ती र मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाएपछि आइतबारदेखि प्रसूति सेवा बन्द गरिएको स्वास्थ्य चौकीले सूचना जारी गरेको थियो। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्