Logo

पाइपलाइन र भण्डारण गृह बनाइँदै



काठमाडौं, जेठ ३२ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिए। निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उनले जानकारी दिए । आगामी पाँच वर्षमा निर्माण सकिने यो परियोजना सम्पन्न भएपछि इन्धन भण्डारण क्षमता बढ्ने उनको भनाइ छ ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको छ ।

आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । आइओसीले भारतको सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने भएको छ । चितवनको पेट्रोलियम भण्डारण डिपो भने निगमको लगानीमा बन्ने छ ।

निगम प्रवक्ता मनोज ठाकुरले दुई देशबिच पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने गरी सम्झौता भएको निगम र आइओसीबिच व्यापार टु व्यापार सम्झौता भएपछि निर्माण कार्य अगाडि बढ्ने उनले जानकारी दिए । आइओसीको प्राविधिक र आर्थिक सहयोगमा पाइपलाइन परियोजना निर्माण गरिने उनले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तीन महिनालाई धान्न सकिने क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागेको हो । नेपाल आयल निगमसँग हाल इन्धनको भण्डारण क्षमता न्यून रहेकाले बजारमा आपूर्ति व्यवस्था सहज पार्न भण्डारण क्षमता वृद्धि गरिने बजेटमा उल्लेख गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्