Logo

साउदी : दिउँसो काममा लगाउन प्रतिबन्ध



काठमाडौं, असार १ । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध लगाइएको हो । यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकलाई खुला ठाउँको काममा लगाउन पाइँदैन ।

राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषद्सँगको सहकार्यमा मन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो । खाडी देश साउदीमा यी तीन महिनाको अवधिमा अत्यधिक गर्मी हुन्छ ।

सो अवधिमा दिउँसोको तापक्रम अधिकतम ५० डिग्री सेन्टिगे्रडसम्म पुग्छ । त्यसैले साउदी सरकारले त्यहाँका निजी क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाका लागि यो अवधिमा दिउँसोको समयमा काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

साउदीमा रहेको नेपाली दूतावासले नेपाली श्रमिकलाई साउदी सरकारले तोकेबाहेकको समयमा कसैले काममा लगाएमा दूतावासलाई जानकारी गराउन आग्रह गरेको छ । साथै दूतावासले असारदेखि भदौसम्म साउदीमा अत्यधिक गर्मी हुने भएकाले सकेसम्म बसेको ठाउँबाट बाहिर नजानसमेत आग्रह गरेको छ । .



प्रतिक्रिया दिनुहोस्

Screenshot