काठमाडौं, असार १ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ जारी छ । उनलाई समितिका सदस्यहरूले प्रश्न गरिरहेका छन् ।
समितिमा सांसद् जर्नादन शर्माले सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुःख पाउँछन् । यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न?
गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ? न्याय सम्पादनमा यसका लागि फरक ढंगबाट के गर्न सकिन्छ भनेर कार्कीलाई प्रश्न गरेका छन् ।
रमेशजंग रायमाझीले मीनभवनको जग्गा प्रकरणमा तपाई आफन्त पनि छन भन्ने सुनिन्छ । मेरो ८ आना जग्गा खाएर मेरो मुद्दामा १५ दिनमा पेसी चडाएको, किर्ते गरेर मलाई सडकमा पुर्याएको भनेर आएको उजुरीमा के हुन्छ भनेर प्रश्न गरेका छन् । त्यस्तै, सर्वोच्च अदालतको मुद्दा गोला सिस्टमा गएको छ भनेर उनले अर्काे प्रश्न गरेका छन् ।
सांसद जगप्रसाद शर्माले गोला प्रर्था वैज्ञानिक प्रणाली नभएको भन्दै अटोमेसन नै ठिक छ, अटोमेसन लागु गर्न के समस्या भयो ? भन्दै प्रश्न गरेका छन् । गणेशलाल अवाले र वहालवाला न्यायाधीशको पनि उजुरी आयो भन्दै यसलाई कसरी हेर्ने? उनको अर्को प्रश्न रहेको छ ।
सांसद ज्ञानेन्द्र बहादुर कार्कीले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो, २८ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी छ, यसलाई कसरी समाधान गरेर अघि बढ्ने, तपाईंको के सोच छ ? ८ महिनामा कामु हुँदा के–के गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । जिल्ला अदालतको खाका उच्चमा लागु गर्दा के हुन्छ? राष्ट्रको महत्वपूर्ण आयोजनाहरूमा मुद्दा पर्छ र स्टेट हुन्छ, यो समस्यालाई कसरी समाधान गर्ने भनेर समेत उनले जिज्ञासा राखेका छन्।
समितिका अर्का सदस्य डीपी अर्यालले नियुक्तिबाटै भ्रष्टाचार सुरू हुन्छ भन्ने तपाईंले लेख्नुभएको छ, यो तपाईंको नियुक्तपूर्व थियो कि तपाईं पछाडि सुरू भएको हो भनेर प्रश्न गरेका छन् ।
समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो । यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ? भन्दै प्रश्न गरेका छन् ।
समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ । सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल