काठमाडौं, असार ४ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि विभिन्न मन्त्रालयगत बजेट शीर्षकमा छलफल हुँदैछ । अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको हो।
सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। ती मन्त्रालयगत बजेटका शीर्षकमाथि सांसद सुमना श्रेष्ठ, दामोदर पौडेल (बैरागी), दीपा शर्मा, गोकर्ण विष्ट, प्रेम सुवाल र प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
विनियोजन विधेयक २०८०’ को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल सकिएको छ। आइतबारसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल हिजोका लागि तोकिए पनि प्रदेशको नामको सट्टा अंक उल्लेख भएपछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ।