Logo

‘आफ्नो महल वरिपरि छाप्राहरू राखेर समाजवादको नाम जप्ने ?’



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले नेपालमा समाजवाद फोस्रो नारा मात्र भएको टिप्पणी गरेका छन् ।
‘छरिएर बसेका पार्टीहरुको मोर्चा बनाएर सामूहिक आवाज बढाउँछु भन्ने कुरालाई हामीले सकारात्मक रुपमै लिनुपर्छ । गर्छौं भन्नेलाई शुभकामना पनि दिनुपर्छ । तर नेपालमा समाजवादी सोच, चिन्तन र व्यवहार अत्यन्तै कमजोर छ । समाजवाद केवल नारा हो । पढेलेखेका युवायुवतीलाई विदेश पठाउने अनि उनीहरुका लागि राजनीति गरेको छु भन्नु पनि विरोधाभास हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
संविधानको प्रस्तावनामा समाजवाद राख्दैमा त्यो सम्भव नहुने भण्डारीले औंल्याए । उनले थपे, ‘संविधानको प्रस्तावनामा हामीले समाजवाद त राख्यौं । तर समाजवाद भनेको के हो ? त्यसको व्याख्या नै भएन । मुखमा जे शब्द आयो, त्यो प्रयोग गर्दैमा समाजवाद आउँछ र ? नेपालका नेताहरुमा समाजवादको नाम जप्ने, आफू सम्पन्न बन्ने, आफ्नो ठूलो घर बनाउने, घर वरिपरि छाप्राहरु राख्ने, संविधानमा समाजवादको कुरा राख्ने, पढेलेखेका कोही युवायुवती देशमा नबस्ने, देशै वृद्धाश्रम जस्तो बनाउने प्रवृत्ति छ । समाजवाद जनतालाई भ्रम पार्ने कुरा हो ।’
नेता भण्डारीले समाजवादी मोर्चा गठनलाई कांग्रेससँगको बार्गेनिङ र एमालेसँगको प्रतिस्पर्धाका रुपमा मात्र नहेरेको पनि बताए । उनले थपे, ‘अहिले कांग्रेस र एमालेभन्दा फरक पार्टी पनि आइसकेका छन् नि । ठूला कुरा गरेर वा धेरै इगो राखेर मात्र मुलुक अघि बढ्न सक्दैन । केवल मुख बझाउने, जनतालाई ढाँट्ने गरेर हामीले ३२ वर्ष खेर फालिसकेका छौं ।’
फरक प्रश्नमा नेता भण्डारीले नेपाली कांग्रेसको केन्द्रीय समितिमा नयाँ जोश, जाँगर भएका नयाँ अनुहार भए पनि सामूहिक रुपमा आवाज उठाउन नसकेको आरोप लगाए । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाकहाँ पार्टी सुधारको कुरा लिएर कोही नेता एक्लै-दुक्लै गयो होला । तर शेरबहादुजीकहाँ गएर सामूहिक रुपमा भनेको मैले थाहा पाएको छैन । त्यसैले नयाँ अनुहारलाई उहाँले चुनौती नै मान्नुभएन । यिनीहरुका कारणले मलाई अप्ठ्यारो पर्छ भन्ने नै सोच्नुभएन । र, पार्टी समयअनुसार अगाडि बढ्न सकेन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot