Logo

शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, असार ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल योग भूमि र योग धरोहर भएको बताएका छन् ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए ।

नेपालका सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको बताउदै उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएकोसमेत बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्