Logo

कांग्रेसलाई समाजवादी मोर्चामा जानुपर्ने कुनै बाध्यता छैन : सञ्जय गौतम



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले आफ्नो पार्टीलाई समाजवादी मोर्चामा जानुपर्ने पनि कुनै बाध्यता नभएको बताएका छन् ।
‘समाजवाद त हामीले संविधानमै लेखेका छौं नि । तर मोर्चा गठबन गरेका मात्रै समाजवादी, हामी गैरसमाजवादी हौं त ? यो मोर्चाले कांग्रेसलाई सजिलो पारिदिएको छ । उनीहरुको उद्देश्य स्पष्ट भएको छ । त्यसमा एमाले गयो भने पनि हामीलाई केही फरक पर्दैन । उहाँहरुले बनाएको मोर्चामा जानुपर्ने बाध्यता कांग्रेसलाई छैन, ‘नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
गठबन्धन मुलुकको आवश्यकताले बनेको र त्यसलाई बलियो बनाउनुपर्ने कुरामा कांग्रेस इमानदार रहेको पनि गौतमले बताए । उनले भने, ‘यो रणनीतिक मोर्चा हो । नेपथ्यमा कसले के गरिरहेको छ, त्यसले हामीलाई केही फरक पर्दैन । गठबन्धन मुलुकको आवश्यकताले बनेको हो र त्यसलाई बलियो बनाउनुपर्ने कुरामा कांग्रेस इमानदार पनि छ ।’
कांग्रेसको नेतृत्व पुरातन शैलीमा चलेकाले विशेष महाधिवेशनको कुरा जबर्जस्त ढंगले उठेको पनि गौतमले बताए । उनले भने,’ पहिले त पार्टीको केन्द्रीय समितिको बैठक बसोस् न । नीति अधिवेशनको मिति तय होस् न । अनि अर्ली महाधिवेशनको कुरा आउला । अहिले हामी त्यहाँसम्म पुगेका छैनौं । महाधिवेशनको डेढ वर्षसम्म विभाग बन्दैन, भातृसंगठन बन्दैन, केन्द्रीय समितिको बैठक नियमित बस्दैन भने पार्टी कसरी अघि बढ्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot