Logo

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने हल्लामात्रै हो, यसमा कुनै सत्यता छैन् : रामकृष्ण यादव (भिडिओसहित)



काठमाडौं, ९ असार ।  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरुको कुनै तयारी र योजना नरहेको स्पष्ट पारेका छन् । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले वर्तमान सरकार बनाउनको लागि कांग्रेसकै भूमिका निर्णायक भएको भन्दै सरकार परिवर्तन गर्ने कुरा हल्ला र मिथ्या भएको टिप्पणी गरे । उनले भने,‘सरकार बनाउनको लागि कांग्रेसले निर्णायक भूमिका खेलेको छ । यो गठबन्धनको अभिभावक कांग्रेस हो । अहिले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ, त्यसमा कुनै सत्यता छैन् । यो हल्ला हो । निराधार कुरा हो । यसमा कुनै सत्यता छैन् । यो मिथ्या हो । यो सरकार स्थायी छ । पाँचै वर्ष यही गठबन्धनको सरकार टिक्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकोले आफूहरु गठबन्धनको कल्चरमा गएको स्पष्ट पारे । उनले भने,‘अहिलेको गठबन्धन खाली सरकार बनाउनको लागि मात्रै गठबन्धन बनेको होईन । यो गठबन्धन नेपालको राजनीतिक स्थिरताको लागि बनेको हो । राजनीतकि लक्ष्य प्राप्त गर्नको लागि बनेको हो । राजनीतिक स्थिरता र विकास निर्माणको लागि अनि देशको प्रगतिको लागि नै वर्तमान गठबन्धन बनेको हो । यो गठबन्धन पाँच वर्ष टुट्दैन । बरु मुलुकको राज्य सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्छ । बहुदलीय व्यवस्था छ । लोकतान्त्रिक व्यवस्था छ, सबैले आफ्ना आफ्ना धारणा राख्ने स्वतन्त्रता छ । त्यही भएर कसैले आफ्नो कुरा राख्नुभएको होला । तर, मलाई लागिराखेको छ यो सरकारले मुलुकको लागि स्थिरता दिन्छ । अहिले राजनीतिक स्थायित्व छ । हाम्रोबीचमा सहमति भएको छ । यो सरकार दायाँबायाँ पटक्कै हुँदैन् ।’

उनले अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै नै राम्रो बजेट ल्याएको भन्दै प्रशंसा गरे । उनले भने,‘मलाई लाग्छ यो बजेट ०४८ सालपछि राम्रो बजेट हो । यो राम्रो बजेट बनेको छ। तर, यहाँ विरोधको लागि विरोध गरिएको छ । यो बजेट पहिलेको भन्दा धेरै नै राम्रो छ । कृषि क्षेत्रमा राम्रो बजेट छ । बजेटले व्यापार घाटा न्यूनिकरण गर्न र रोजगारी बढाउन सघाउँछ । कृषि क्षेत्रमा प्रगति गर्छ । बजेटमा तलमाथि हुने सम्भावना छैन् । आउने दिनमा बरु के/कसो गर्दा राम्रो हुन्छ भनेर नेतृत्व तहमा छलफल होला । तर संशोधन हुन्छजस्तो मलाई लाग्दैन् । बजेट पास हुन्छ ।’ सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमण सफल भएको पनि चित्रण गरे ।



प्रतिक्रिया दिनुहोस्