Logo

युवा संघद्धारा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिपको आयोजना, अध्यक्ष थेबेले गरे उद्घाटन



काठमाडौँ, १४ असार । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप आयोजना गरेको छ । आज (बिहीबार) एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो । संघका अध्यक्ष क्षितिज थेबेले एक समारोहबीच तारकेश्वर वडा नं. ६ फुटुङ स्थित फुटसल मैदानमा उद्धाटन गरेका हुन् ।

सो क्रममा अध्यक्ष थेबेले एमालेमा नवयुवाहरुको आकर्षण बढेको बताएका थिए । उनले राष्ट्रियता, आम जनताको जनजिवीकाको सवालमा, कृषक र किसानको पक्षमा, महंगी र भष्ट्राचारको विरुद्ध लगायत अनेकौ मुद्दामा राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेले खेलेका गतिविधिका कारण एमालेप्रति थप आकर्षण बढेको धारणा राखे ।

थेवेले वर्तमान सरकार ललिता निवास सरकारी जग्गा नभएको भनेर फैसला गराउने तत्कालीन न्यायाधीश बलराम केसीलगायतलाई पक्राउ नगरेर जोगाउन खोजिरहेको र त्यस घटनालाई युवा संघले नजिकबाट नियालिरहेको बताए । प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् ।

उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोलरक्षकलाई समान १०–१० हजार दिइनेछ । प्रतियोगितामा काठमाडौ, भक्तपुर र ललितपुर जिल्लास्थित् स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहनेछ ।

उपत्यकाका २१ वटै स्थानीय तहमा आजदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ–आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने राष्ट्रिय युवा संघले जनाएको छ ।

पछिल्लो समय फुटबल र फुटसल प्रति आम युवाको बढ्दो आकर्षण र संघको रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यले विविध रचनात्मक क्रियाकलाप गर्दै आईरहेको संघका प्रवक्ता निरोज पौडेलले जानकारी गराए।



प्रतिक्रिया दिनुहोस्

Screenshot