Logo

माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा (समाजवादी) बनाउँदै छौं : मन्त्री यादव



काठमाडौं, १९ असार । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन ‘अप्राकृतिक’ हुने औंल्याएका छन् ।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको लोकप्रियता बढेको छ । प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएकाले एमाले तिलमिलाउँदै अनेक हल्ला चलाएको छ । कांग्रेस र एमालेको गठबन्धन अननेचुरल हुन्छ । म त्यस्तो कुनै सम्भावना देख्दिनँ । यो गठबन्धन जनताबाट अनुमोदित गठबन्धन हो । बीचमा अलिअलि गडबड भयो । अब यो पाँच वर्ष चल्छ । यसले नै जनतालाई सुशासन र विकासको अनुभूति दिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नागरिकता विधेयकको कार्यान्वयन, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीले सरकारको लोकप्रियता बढेको मन्त्री यादवको दाबी छ । उनले थपे, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान बढिरहेको छ । लोकतन्त्रमा व्यक्तिभन्दा कानुनको सर्वोच्चता हुन्छ । यसमा प्रधानमन्त्रीको दृढता छ । सत्ता साझेदार दलहरुको पनि सहमति छ । अब कसैको असहयोग हुँदैन ।’
साथै उनले मधेसमा जनसंख्याका आधारमा बजेट नभएको पनि बताए । उनले भने, ‘सबैभन्दा बढी राजस्व मधेसबाट जाने तर कम पाउने त भएन नि । अहिले मधेसको बजेट १८ प्रतिशत छ । जनसंख्याका आधारमा ५३ प्रतिशत हुनुपथ्र्यो । अब हामी मधेसमा सन्तुलित बजेट लैजान्छौं ।’
नेपाल समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादवले समाजवादी मोर्चा चीनको चाहनामा नबनेको दाबी गरे । उनले भने, ‘समाजवादी मोर्चा हाम्रा नेता बाबुराम भट्टराईले दुई वर्ष अघिदेखि नै ल्याएको विचार हो । जसपाले नेपाल समाजवादी पार्टी राख्दा हामी बस्दैनाँैं भनेपछि प्रधानमन्त्रीजीलाई समस्या भयो । हामी समाजवादी धारलाई बलियो बनाउँदै अघि बढ्ने सोचमा छौं ।’
साथै उनले आफ्नो पार्टी चाँडै नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताए । उनले भने, ‘माओवादी केन्द्र र हाम्रो पार्टी मिलेर नेकपा (समाजवादी) पार्टी बन्छ । पार्टीको चुनाव चिह्न पनि परिवर्तन हुन्छ । त्यसका लागि माओवादी केन्द्रले निर्णय गर्न बाँकी छ । त्यसमा विप्लवजी पनि समेटिनुहुन्छ ।’
आफू मन्त्री भएपछि मेलम्चीको पानी बाह्रै महिना, चौबिसै घन्टा आउने व्यवस्था गर्न लागेको पनि यादवले बताए । उनले थपे, ‘मेलम्चीको पानी धमिलो हुँदा बन्द हुन्छ, संग्लो हुँदा आउँछ । अब जति बाढी आए पनि क्षति नहुने व्यवस्था हुन्छ । अहिले १७ करोड लिटर मात्र आइरहेको छ । हामी स्वच्छ नेपाल, स्वस्थ नेपाली अवधारणा लिएर अघि बढिरहेका छौं ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot