Logo

शान्तिप्रक्रियामा आएपछिको कुरालाई अहिलेकै जसरी प्रचार गरियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार



काठमाडौं, २० असार । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषणको अतिरञ्जित प्रचार प्रसार गरिएको आरोप लगाएका छन् ।
‘प्रितम सिंहको किताब विमोचनमा उहाँले दिल्ली धाएर प्रधानमन्त्री भएको कुरा बोल्नुभएकै छैन । त्यो नेकपा (माओवादी) शान्तिप्रक्रियामा आइसकेपछिको कुरा हो । उहाँ पहिलोपटक प्रधानमन्त्री हुनुभन्दा पहिले देश र विदेशमा माओवादीका शुभचिन्तकहरु थिए । उनीहरुले प्रचण्डजस्तो नेता अब प्रधानमन्त्री बन्नुपर्छ भन्ने शुभेच्छा राख्नु स्वाभाविकै हो । त्यसलाई अहिलेकै कुरा भने जसरी दिल्ली गएर प्रधानमन्त्री बनाएको भनेर प्रचार गर्नु ठीक होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्री प्रचण्डको सबै भाषण सुन्न आलोचकहरुलाई सुझाव दिए । उनले थपे, ‘भारत जानु भनेको भारतीय सरकारलाई भेट्नु भन्ने अर्थ लाग्दैन । विद्वान् र बौद्धिकहरुले भाषणको एउटा अंश ल्याएर टिप्पणी गर्नु भएन । के आशय हो ? किन भनेको थियो ? सबै कुरा सुनेर मात्र बोल्नुपर् यो । नेपालकोे प्रधानमन्त्री नेपालकै संसदले बनाउने हो । दिल्ली धाएर प्रधानमन्त्री बनिने भए यहाँ धेरै जना प्रधानमन्त्री भइसक्थे ।’
आचार्यले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड आतुर रहेको पनि बताए । उनले भने, ‘जनताले विश्वास गरेका, भिजन भएका र बौद्धिक व्यक्तिलाई सरकारमा स्वागत गर्न प्रधानमन्त्री आतुर हुनुहुन्छ । त्यसका लागि कुन ढंगको वातावरण बनाउनुपर्छ र कुन ढंगको त्याग गर्नुपर्छ, गठबन्धनले सबै अधिकार उहाँलाई नै दिएको छ ।’ नक्कली भुटानी शरणार्थी, ललिता निवासको फाइल खोल्न प्रचण्ड आउनुपर्ने कारण जनताले बुझेको दाबी पनि उनले गरे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले सहमतिमै संसदीय समितिको सभापति चयन गर्ने वातावरण बन्दै गएको पनि बताए । उनले भने, ‘संसदीय समितिको सभापति चयन प्रक्रिया हप्ता १० दिनभित्र टुंगिन्छ । सकभर सहमति गर्ने हो । त्यो भएन भने सधैंभरि पर्खेर बस्ने कुरा आउँदैन । सभामुखज्यूले प्रक्रियामै लैजाने अवस्था आउँछ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot