Logo

प्रधानमन्त्रीले गरे सत्ता गठबन्धनका संसदीय दलका प्रमुख सचेतकसँग छलफल, आजै संसदमा सम्बोधन गर्ने



काठमाडौं, असार २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक चल्न दिएको छैन् ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा समेत एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्डले भर्खरै नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सँग बालुवाटारमा छलफल गरेका छन्। दलका सचेतकहरु सँगको छलफल पछि प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गरेर अगाडी बढ्ने तयारी गरेका हुन् ।

यसअघि विहिबार विहान बालुवाटरमा बसेको सरकारमा सहभागी सात दलको बैठकले संसदमै सामना गरेर अघि बढ्ने प्रधानमन्त्रीले राजीनामा नदिने निश्कर्ष निकालेको थियो । एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले आज पनि संसद बैठक चल्न नदिने अडान राख्दै आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने एमाले बताएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस्