Logo

पाठ्यक्रमले मात्र पुग्दैन उम्दा मूल्यांकन आवश्यक



काठमाडौं, असार २६ । सरकारले विद्यालयीय शिक्षण सिकाइ प्रक्रियामा ग्रेडिङ प्रणालीबाट मूल्यांकन सुरु गर्न निर्देशन दिएको ८ वर्ष भयो तर अझै पनि शिक्षकमै सोे मूल्यांकन प्रक्रियाप्रति अन्योल देखिएको छ। अधिकांश विद्यालयका शिक्षकलाई विद्यार्थीको सिकाइ उपलब्धि मापनबारे तालिम नदिइएकाले पनि मूल्यांकन गर्न कठिनाइ हुने गरेको खुलेको छ।

म्याग्दी धौलागिरी गाउँपालिकास्थित हेम माध्यमिक विद्यालयकी शिक्षिका उमा कँडेलका अनुसार लेटर ग्रेडिङ मूल्यांकनको कार्यान्वयन नै विद्यालयमा कार्यरत शिक्षकले गर्ने हो तर धेरै शिक्षकले यसबारे राम्ररी ज्ञान वा तालिम नपाउँदा मूल्यांकनमा देखिने गरेको छ। उनले कार्यान्वयन भएका नयाँ पाठ्यक्रमअनुसार जाने हो भने पेपरमा लेखेर लेटर ग्रेडिङको मूल्यांकन गर्न नसकिने स्पष्ट पारिन्। ‘नयाँ पाठ्यक्रम कार्यान्वयन मात्र गरेर हुँदैन, यसको उम्दा मूल्यांकन आवश्यक मुख्य विषय हो,’ शिक्षिका कँडेलले भनिन्, ‘२५ नम्बरको आन्तरिक र ७५ नम्बरको बाह्य मूल्यांकनबारे शिक्षकलाई तालिम नै छैन।’

उनले थपिन्, ‘काठमाडौंका केही स्कुललाई हेरेर हँुदैन। उपत्यकाबाहिरका सरकारी विद्यालयका शिक्षकले तालिम नपाएकै कारण सिकाइ उपलब्धि स्तरीय हुन नसकेको हो ।’उनका अनुसार सरकारले पाठ्यक्रमको जटिलता चिर्ने गरी शिक्षकलाई तालिम दिनुपर्ने व्यवस्था गर्नुपर्छ। हाल पाठ्यक्रमले गणितबाहेक भाषाका विषयमा बोलाइ र सिकाइ, विज्ञानमा प्रयोगात्मक र अन्य विषयमा परियोजनात्मक कार्य तोकेको छ। ‘तर शिक्षकको बुझाइमा पुरानै तरिकाको प्राक्टिकल भन्ने छ, जुन गलत हो,’ उनले सुझाइन्, ‘प्राक्टिकल नयाँ पाठ्यक्रममा छैन। यस्ता जटिलता नयाँ पाठ्यक्रममा छन्। तालिम नयाँ पाठ्यक्रमअनुसार नभएसम्म शिक्षकको शिक्षण सिकाइ र विद्यार्थीको सिकाइ उपलब्धि स्तरीय हुँदैन।’

यसको गतिलो उदाहरण कोरोना कालमा शिक्षकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा गरेका त्रुटिहरूबाटै स्पष्ट हुन आएको थियो। कोरोना कालमा सरकारले कक्षा १० को मूल्यांकनको जिम्मेवारी स्कुललाई नै दिएको थियो।

त्यस बखत धेरै स्कुलले आफ्ना नानीहरूलाई पूर्णांकभन्दा बढी नम्मरसमेत दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तो त्रुटि सामुदायिक र निजी दुवै प्रकृतिका विद्यालयबाट भएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्