Logo

नेताहरूले बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ नगरुन् : खतिवडा



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर् याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको बताएका छन् ।
‘प्रायः ठूला नेताका श्रीमतीहरु राजनीतिक विवादमा पर्छन् । तर सीता दाहाल सत्ता राजनीतिमा पनि शालीन, सौम्य, नम्र नारी देखिनुभयो । सबैका यस्तै आमा, श्रीमती थिए भने राजनीतिमा मात्र होइन, सबै क्षेत्रमा सफल हुन्थे,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद खतिवडाले गत उपनिर्वाचनमा कांग्रेसलाई ‘सक’ लागे पनि ‘समाप्त’ नभएको टिप्पणी गरे । उनले भने, ‘गत उपनिर्वाचनले नेपाली कांग्रेसलाई सक बनाएको हो, तर सदाका लागि समाप्त भएको होइन । एउटा नेताले अर्को नेतालाई गाली गरेर पार्टी सकियो भन्ने हीन भावना लिनुपर्ने कुनै कारण छैन । पार्टीभित्र गुट उपगुट होला, नेताहरुलाई यो बाटो गए चाँडै पुगिएला भन्ने लागेको हुन सक्छ । तर बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ भन्ने स्थिति आउन दिनुहुँदैन ।’
प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहालको निधनका कारण साउन २ मा सरेको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको विषय उठ्छ कि उठ्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘हामी मुलुक कानुनसम्मत मुलुक चलोस् चाहन्छौं । तर हामी अदालतमा विचाराधीन विषय प्रभावित हुने कुनै पनि निर्णय गर्दैनौं । हाम्रा कुनै पनि नेता सभापति, उपसभापति, महामन्त्रीहरु कसैलाई बचाउन वा फसाउने काममा लाग्नुभएको छैन । चुरोमा नपुग्ने कुरा बाहिर प्रचार गर्नुको अर्थ छैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot