Logo

चीनलाई ‘सुपर पावर’ बन्न नदिन अमेरिकाले नेपालमा चासो बढाइरहेको छ : पूर्वराजदूत ढकाल



काठमाडौं, ३० असार । पूर्वराजदूत योगेन्द्र ढकाल (अजय शर्मा) ले अमेरिकाले चीनलाई ‘सुपर पावर’ बन्न नदिन नेपालमा चासो बढाइरहेको टिप्पणी गरेका छन् ।
‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको एक दिने छोटो भ्रमणमा आउनुभएको छ । एमसीसीको कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बनाउने र बीआरआईको लगानीबारे नेपाल सकारात्मक भएकोमा उसको चासो छ । अमेरिकाको सुपर पावर कमजोर हुँदै गएको, विश्व बहुध्रुवीय भएको र अमेरिकालाई चीनले चुनौती दिइरहेको अवस्थामा उसले नेपालमार्फत केही काम गर्न चाहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्वराजदूत ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको हो कि होइन भन्ने प्रश्नमा भने टिप्पणी गर्न चाहेनन् । उनले थपे, ‘पोखरा विमानस्थल बीआरआई अन्तर्गतको हो भनेर चीनले दुईपटक भनिसकेको छ । एक पटक भए त गल्ती भएको भन्न सकिन्थ्यो । चीनका कूटनीतिज्ञहरु त्यति कमजोर नहुनुुपर्ने हो । तर म अहिले यो विषयमा धारणा राख्न सक्ने अवस्थामा छैन । न म सरकारको उच्च तहमा छु, न त चीनको सम्पर्कमै छु ।’
उनले परम्परागत भूराजनीति भाष्य बदलिसकेको पनि बताए । ढकालले भने, ‘पृथ्वीनारायण शाहको पालाको दुई ढुंगाको तरुल भन्ने परम्परागत भाष्य बदलेर अब नेपाल भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रबीचको अर्थात् तीन ढुंगाबीचको तरुल हो भन्ने बुझ्नुपर्छ र कूटनीतिक सम्बन्ध सन्तुलित बनाएर जानुपर्छ ।’
भारत, चीन वा अमेरिकाको कार्ड खेलेर सत्तामा पुग्ने खेलमा लाग्नु गलत भएको पनि उनले बताए । पूर्वराजदूत ढकालले भने, ‘कूटनीति कहिले पनि मनभित्रको रोमान्टिक भावनाले मात्र निर्धारित हुन सक्दैन । त्यो मुलुकको आर्थिक, राजनीतिक अवस्था अनि छिमेकी र विश्वको परिस्थितिले निर्धारित गर्छ । सरकारमा पुग्नका लागि कहिले चीन, कहिले भारत र अमेरिकाको कार्ड प्रयोग गर्नु गलत हो ।’
अमेरिकासित सम्बन्ध बढाउँदा भारत र चीनको सरोकारलाई पनि ध्यान दिनुपर्ने ढकालको विश्लेषण छ । उनले भने, ‘अमेरिकासँग सम्बन्ध राम्रो गर्ने कुरामा मेरो असहमति छैन । हाम्रो यथार्थले त्यतैतिर बढ्नुपर्छ । भारतसित सम्बन्ध बढाउने सन्दर्भमा उनीहरुको सार्वभौमसत्ताको सम्मान गर्दै आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर् यो । चीनसितको सम्बन्धलाई हामीले भारतविरोधी सम्बन्धका रुपमा विकसित हुन दिनु हुँदैन । भारतसितको सम्बन्धलाई पनि हामीले चीनविरोधी सम्बन्धका रुपमा विकसित हुन दिनुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्