Logo

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम



सर्लाही, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका  करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम दिन सुरु गरिएको उनले बताए । शिक्षक शिक्षिकालाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम, बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ  ।

यसरी विभिन्न चरणका तालिममा सहभागी भएका शिक्षक शिक्षिकाले आआफ्नो विद्यालयमा प्रशिक्षकका रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताए । उनका अनुसार बालबालिकामैत्री पठनपाठनको अवधारणाअनुसार बागमती नगरपालिकाका सामुदायिक विद्यालय अगाडि बढिसकेका छन् ।

बागमती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए । सामुदायिक विद्यालयले विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएका उनले बताए ।

बृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रशिक्षकका रूपमा सहयोग गरिराखेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्