Logo

मेथिनकोट अस्पतालको सेवा विस्तार



काभ्रे, ४ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालमा हाल ओटी (अप्रेसन थ्रेटर), डायलासिस सेवा थपिएको छ । काठमाडौँस्थित गङ्गालाल अस्पतालको सहकार्यमा हृदयाघात सम्बन्धी उपचार सेवा, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवालगायत आइसियु, भेन्टिलेटरसहित अस्पतालका सम्पूर्ण सेवालाई थप प्रभावकारी बनाइएको अस्पतालका प्रमुख डा. मधुकर दाहालले बताए । उनका अनुसार जनशक्ति व्यवस्थापन गरी हाल सुरु गर्न लागिएको डायलासिस सेवाले मिर्गौला रोगीका लागि निकै राहत पुग्नेछ ।

अस्पतालमा २४सै घन्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, एक्स–रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा विस्तार गरी गरिएको डा. दाहालले बताए । “सेवा प्रभावकारी बनाउँदै लगिएकाले बिरामीको विश्वास बढेको छ । गुणस्तरीय प्रयोगशालाका कारण स्थानीय तथा छिमेकी जिल्ला सिन्धुलीका नागरिकले पनि सेवा लिएका छन्”, उनले भने । उनका अनुसार पचास श्ययामा सञ्चालित यस अस्पतालले गम्भीर समस्या भई बाहिर पठाउनु पर्ने(रिफर) बिरामीको सङ्ख्या घटाउँदै लगेको छ ।

त्यस्तै विभिन्न विपद्का समयमा घाइते भएका, सडक दुर्घटना तथा आकस्मिक सेवामा आउने बिरामीको  सहजताका लागि आवश्यक तयारी गरिएको डा. दाहालले जानकारी दिए ।

बाह्र दक्ष चिकित्सकसहित ६८ जना कर्मचारी रहेको उक्त अस्पतालले सामान्य चिरफार, स्वास्थ्य विमा कार्यक्रम, रेविजविरुद्धको खोप, महामारी नियन्त्रण, एचआइभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी हरेक शनिबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम’समेत सञ्चालन भइरहेको छ ।

दाहालका अनुसार अस्पतालले बिरामीका लागि निःशुल्क खाना र खाजाका साथै सुत्केरी महिलाका लागि विशेष खानाको व्यवस्था गरेको छ । अस्पतालमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर, तेमाल, रोशी, महाभारत, पाँचखाल नगर तथा रामेछाप, सिन्धुली, दोलखा, खोटाङ, ओखलढुङ्गा तथा बिपी राजमार्ग हुँदै यात्रा गर्ने अधिकांशले सेवा लिँदै आएका छन् ।

अस्पतालले शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी महिलाको पाठेघरको उपचार, हड्डीको समस्या, हर्निया तथा हाइड्रोसिलका बिरामीको उपचार सुरु गर्ने जनाएको छ । जिल्ला अस्पतालको मान्यता दिइएको उक्त अस्पताललाई प्रादेशिकस्तरको बनाउन सेवा विस्तारमा तीव्रता दिइएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot