Logo

मल भन्सारमा, किसान मर्कामा



सिन्धुपाल्चोक, साउन ७ । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक मल थन्किएर बसेको छ ।

यता कृषकहरूले यो वर्ष कम पानी पर्दा बल्लतल्ल दुःखजिलो गरेर खेतीपाती सकाएका छन् । तर, ती खेतीमा मल हाल्न नपाउने पीरले किसानहरूलाई सताउन थालेको छ भने उता सरकारले कृषि सामग्री कम्पनीमार्फत चीनबाट किनेको झन्डै साढे सात लाख बोरा युरिया नाकामै थन्किएर बसेको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार एक सय ११ कन्टेनरले वैशाखमै ल्याएको सात लाख ३५ हजार बोरा मल लार्चा यार्ड गोदाममा थन्किएको छ । मलले सिङ्गो गोदाम ढाकेकाले लोड अनलोड गर्न भन्सारलाई समस्या परेको छ ।’ उनले बन्दरगाहमा आएका सामग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिँदै भने– ‘मल यसरी बसेको दुई महिना भइसकेको छ, हामी भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौँ। सम्बन्धित पक्षलाई यसबारे खबर पनि पठाएका छौं ।’

२०७२ को महाभूकम्पको चार वर्षपछि मालवाहक गाडीका लागि एकतर्फी रूपमा नाका खुलेको थियो । दुई देशका पदाधिकारी बैठक बसेर, उक्त नाकाबाट गत वर्षको वैशाख १८ मा निर्यात पनि खुलाएको हो । कृषि सामग्री कम्पनीबाट मल आयातको लागि सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले ठेक्का पाए पनि सिल्क मार्केटले अनेक समस्या देखाएका कारण समयमै मल ल्याउन नसकेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुरूप सिल्क मार्केटले गत वर्ष ल्याउनुपर्ने मल यस वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिएन । सिल्क मार्केटका व्यवसायी रमेश शेर्पाले कृषि सामग्रीसँग आवश्यक प्रक्रिया नसकिएको र थप कुराकानी गरिरहेको जानकारी दिँदै भने, ‘प्रक्रिया पूरा भएपछि मल काठमाडौं लैजान्छौँ, ।’

कृषि सामग्री कम्पनीसँग गत वर्ष भएको सम्झौताअनुसार मल बिक्री गर्न नसकिने भएपछि मल भन्सारमै राखेर कम्पनीसँग कुराकानी गरिरहेको सिल्क मार्केटले बताएको छ । नाकामा मल थन्किँदा देशभर मल अभाव भइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्