Logo

बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ५ सय २१ जनाले लिए लाभ



काठमाडौं, ७ साउन । काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शुक्रबार कलेजले बुढानिलकण्ठ युथ सर्कलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत केएमसीले वडा नं. १३ को नौलिन मा.वि.को प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

उक्त शिविरमा ५ सय २१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ५५ जनाको इसिजी, ८७ जनाको भिडियो एक्सरे तथा ७८ जनाको ल्याब परीक्षण गरिएको थियो । साथै, शिविरमा स्वास्थ्य जाँच गर्न आएका मध्ये २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको महाप्रवन्धक दाहालले जनाए ।

शिविरमा जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, नाक कान घाँटी र आँखा रोग सम्बन्धी सेवा दिइएको थियो । केएमसीले नियमित रुपमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

आम नागरिकलाई केएमसीका स्वास्थ्य सेवाहरुमा पहुँच पुर्याउन तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान थालेका थिए । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले थालेको अभियानलाई निरन्तरता दिइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot