काठमाडौं, साउन ९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् ।
कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।
‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइनः,’ उनले प्रश्न गर्दै भने, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?।’
गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार रहेको बताउँदै नेता ओलीले गृहमन्त्रीले केहि दिनअघि ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्नेबारे दिएको अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको बताए ।
कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् । कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया गएका थिए।
ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका दर्जनबढी नेताहरु विमानस्थलको विशिष्ठ कक्ष सम्मै पुगेका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हाल एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने नियम लगाएको छ ।
विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिको निर्णय भन्दै सुरक्षाकर्मीहरुले सर्वसाधारणहरुलाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै फर्काईरहेका छन् ।
आइतबार राति १२ बजे इन्डोनेसिया प्रस्थान गरेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बिदाई गर्न समेत दर्जन बढि नेता कार्यकर्ता विमानस्थलको विशिष्ठ कक्ष सम्मै पुगेका छन् ।
विमानस्थलस्थित पास एकाईले माथीको आदेश भन्दै आफ्ना आफन्त र चिनजानका मान्छेलाई अध्यागन पार गर्न पाउँने ए, बी क्याटगोरीको पास दिदै आएका छन । तर, सर्वसाधारणले भने अन्तर्राष्ट्रियतर्फको हवाई टिकट चेकजाँच काउन्टरसम्म जान पास नपाएको गुनासो गरेका छन् ।