Logo

पशुचौपायालाई निकुञ्ज बाहिर घाँस रोप्दै स्थानीय



जानकी, ९ साउन । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्नका लागि राप्ती सोनारी गाउँपालिका–१ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस रोपेका  छन् ।

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले पशु चौपायाका लागि आवश्यक डाले घाँस, किमु, भटमासे, काप्रोलगायत प्रजातिका करिब एक हजार दुई सय बिरुवा रोपिएको जानकारी दिए ।

“विसं २०६७ सालमा निकुञ्ज स्थापना भएसँगै निकुञ्जभित्र गएर घाँस काट्न मात्रै होइन पस्न नै पाइँदैन । आँखा छलेर पस्दा वन्यजन्तुको सिकार भइने डर पनि हुने भयो । त्यसैले सामुदायिक वनको खाली जग्गामा पशुका लागि घाँस लगाएका हौँ”, उनले भने ।

वन्यजन्तुका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले बालीनाली र मानवीय क्षतिका घटना बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको सहअस्तित्वको आवश्यकता महसुस हुँदै गएको अध्यक्ष खड्काले बताए ।

निकुञ्ज र वन्यजन्तु संरक्षणमा साझेदारी गरिरहेका जेडएसएल नेपालको आर्थिक सहयोग तथा हिमाली प्रकृतिको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्ज, राजकोट मध्यवर्ती क्षेत्र अन्तर्गतका बसेरी मध्यवर्ती सामुदायिक वन, कुसुमेश्वर मध्यवर्ती सामुदायिक वन र रानी तलाउ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हालसम्म करिब १० हजार घाँस प्रजातिका बिरुवा रोपिएको छ ।

अहिले रोपिएका बिरुवा दुईदेखि तीन वर्षको अन्तरालमा घाँसका रुपमा प्रयोग गर्नका लागि तयार हुन्छन् । मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका अधिकांशले बाख्रापालन गरेर जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँका स्थानीयलाई पशुचौपायाकै लागि घाँस काट्न दैनिक तीन पटक जङ्गल जानुपर्ने बाध्यता रहेको बसेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमप्रसाद चौधरीले बताए ।

वन क्षेत्रमा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुमा असर पर्ने भएकाले सामुदायिक वन क्षेत्रमा घाँस प्रजातिका बिरुवा रोपिएको अध्यक्ष चौधरीले बताए । “वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको छ, हामी सधैँ वनजङ्गलमा घाँस काट्न जाँदा वन्यजन्तु र मानव दुवैलाई क्षति हुन सक्छ भन्ने कुरा हामीले बुझेका छौँ । त्यही कुरा बुझेर नै हामीले नजिकैको सामुदायिक वनमा घाँस प्रजातिका बिरुवा रोपेका हौँ”, उनले भने। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot