Logo

हितराजसँग जनार्दन किन भए आक्रोशित



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आगामी साउन १७ गते बस्दैछ । केन्द्रीय समितिको बैठकको एजेण्डा तयका लागि आज (बुधबार) पार्टी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा केन्द्रीय समिति बैठकको विषयमा छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘बैठकमा त्यस्तो औपचारिक कुनै निर्णय भएन । केन्द्रीय समिति बैठकको एजेण्डा तय र तयारीको विषयमा छलफल भएको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा प्रमुख सचेतक पाण्डेले भने ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको औपचारिक भ्रमणमा रहेका बेला कार्यवहाक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकबाट बाहिरिँदै गर्दा प्रमुख सचेतक पाण्डे र पार्टीका प्रभावशाली नेता जनार्दन शर्माबीच परिस्थिति केही असामान्य भएको देखिएको थियो । जनार्दन शर्मा हितराज पाण्डेलाई आक्रोशित मुद्रामा केही भनिरहेका थिए । उक्त असामान्य परिस्थिति बैठकका विषयमा उत्पन्न भएको प्रमुख सचेतक पाण्डेले बताए । प्रतिनिधि सभा बैठक र पदाधिकारी बैकठ एकैदिन राखेकोमा शर्माले केही असन्तुष्टि देखाएको पाण्डेको भनाई छ ।

‘त्यस्तो मन मुटाव र भनाभन केही पनि होईन । आज संसद् पनि छ । पदाधिकारी बैठक पनि एकैदिन जुधेपछि उहाँले एकैदिन किन राखेको भन्नु भएको हो । त्यस्तो ठूलो अरु केही पनि होईन्,’– पाण्डेले भने ।

 



प्रतिक्रिया दिनुहोस्