Logo

जरलहवागाछीका अग्निपीडितलाई बासको आश



महोत्तरी, १९ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ । अग्निपीडितका लागि खानेकुरा, खाद्यान्न (चामल, दालसहित), लत्ताकपडा र भाँडाकुडा जुटेपनि सुरक्षित बसोबासको व्यवस्था भने हुन सकेको छैन ।

पीडितको अबको आवश्यकता सुरक्षित बसोबास नै हो । उनीहरु एक सातादेखि राम्रोसँग सुत्न पाएका छैनन् । “जेनतेन खानेकुरा त जुटेकै छ, तर घटनायता हामी राम्रोसँग सुत्न सकेका छैनौँ”, अग्निपीडित सीताराम पासवान भन्छन्,“बालबालिका, बुढाबुढी, सुत्केरी र बिरामीको कन्तविजोग छ ।”

अग्निपीडितका लागि तत्काल बासको प्रबन्ध गर्नुपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । “एक सयभन्दा बढी परिवारको व्यवस्थापनको कुरा छ, यो प्रबन्ध मिलाउन केही समय लाग्छ”, उनले भने ।

पीडित बस्तीमा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बासको प्रबन्ध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञ टोली यहाँको स्थलगत अवस्था बुझेर फर्केको छ ।

बस्तीको अवस्था नियमित नियाली रहेका सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीले अब बस्तीमा छाप्रो बनाउन खाँबाका लागि बाँस, छानाका लागि जस्तापाता, खाना पकाउन चुलो र ग्यास, सुत्न/बस्न खाट, ओढ्ने/ओछ्याउने लुगा (बेडसिट, ब्ल्याङ्केट, सिरानी), यताउता सार्न मिल्ने फोल्डिङ टेन्ट र विद्यालयमा पढ्न जाने गरेका बालबालिकाका लागि स्कुलब्याग, स्टेसनरी (कपी, कलम, पेन्सिल आदि) को आवश्यकता औँल्याएका छन् । बस्तीमा सधैँजसो पुगिरहेका सञ्चारकर्मी रञ्जन भण्डारीले त सामाजिक सञ्जालमा यी सामग्रीको जोहोमा सहयोग गर्न अपिल नै गरेका छन् ।

अग्निपीडित बस्तीमा एक सय ६० किशोर एक सय ५८ किशोरी गरी यो उमेर समूहका तीन सय २५ जना प्रभावित छन् । यसैगरी पाँच वर्ष मुनिका ७५ बालिका र ५७ बालकसमेत एक सय ३२ बालबालिका प्रभावित छन् । घटनाअघि नियमित विद्यालय जाने किशोरकिशोरी र बालबालिका अहिले घटनापछि विद्यालयको औपचारिक पोसाक, पुस्तक, कपी/कलमजस्ता सामग्री नहुँदा आगोले बनाएको खरानीको थुप्रो खेलाएर मन भुल्याइरहेका पत्रकार भण्डारीको भनाइ छ । यिनीहरुको विद्यालय नियमित गराउन यी सामग्रीको जोहो गरिन भण्डारीले सम्बद्धपक्ष र सहयोगी दाताहरुको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक क्षेत्रबाट औँल्याइएका यी विषयबारे नगर प्रमुख मण्डल आपूm जानकार रहेको बताउँछन् । प्रभावित बस्तीमा नियमित पुगेर अवस्था नियाली रहेका सामाजिक र सञ्चारक्षेत्रका साथीबाट बुँदागत रुपमा अब गरिनुपर्ने कामबारे सुझाव पाइरहिएको र सोअनुसार तयारीमा जुटिएको मण्डलको भनाइ छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समिति, रेडक्रससहितका सामाजिक सङ्घ संस्था र सम्पर्कमा रहेका दाताबीच आपूmहरु सघन छलफलमा रहेको र पीडित परिवारका लागि आवश्यक प्रबन्ध मिलाउन लागिरहिएको मण्डलले बताएका छन् । यसबाहेक अब बस्तीका वृद्धवृद्धा, सुत्केरी, गर्भवती र स–साना नानीको विशेष सम्भारको चासो र आवश्यक उपचार प्रबन्धमा लागिएको मण्डलको भनाइ छ ।

आगलागी भइरहँदा नगर प्रमुख मण्डलले रुँदै आपद्मा सहयोग गर्न अपिल गरेपछि सहयोग भने जुटेको मटिहानीमा चर्चा छ । “आपद् त मटिहानीमा प¥यो, यहाँका मान्छेले खेपे र खेप्दैछन् , तर हाम्रो दुःखका बेला जुटेको सहयोगबारे मटिहानीबासी सधैँ सम्झना गर्नेछन्” मटिहानीका ज्येष्ठ नागरिक तथा प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल प्राप्त सहयोग र चासोप्रति कृतज्ञता व्यक्त गर्छन् । ज्येष्ठ नागरिक मण्डलजस्तै आम मटिहानीबासी दुःखका बेला प्राप्त सहयोगको सराहना गर्दै अबको बास प्रबन्धमा थप सहयोगको आशमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot