Logo

प्रमुख निर्वाचन आयुक्त थपलियालाई माफी माग्न जसपा सचेतक यादवको आग्रह, अटेर गरे महाअभियोग लगाउने चेतावनी



काठमाडौं,१० साउन । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई माफी माग्न आग्रह गरेका छन् ।

बुधबारको प्रतिनधिसभाको बैठकमा बोल्दै यादवले मंगलबार निर्वाचन आयोगले खर्च नबुझाउने आम निर्वाचनका उम्मदवारको सूचीमा आफ्नो नाम उल्लेख भएको भन्दै आपत्ति जनाउँदै प्रमुख आयुक्त थपलियालाई माफी माग्न आग्रह गरेका हुन् ।

यादवले आफुले निर्वाचन आयोगले तोकेको समय अवधीभित्रमै खर्च बुझाएको भन्दै आयोगले जनप्रतिनिधिले निर्वाचन खर्च नबुझाएको भन्दै विज्ञप्ति निकालेर चरित्रहत्या गरेको बताए । उनले निर्वाचन आयुक्तले माफी मागेर गलती नसच्याए महाअभियोग लगाउने चेतावनीसमेत दिए ।

‘हिजोमात्र प्रमुख निर्वाचन आयुक्तले एउटा विज्ञप्ति जारी गर्नुभएको छ । जनप्रतिनिधिहरुले खर्च विवरण बुझाएन, सार्वजनिक गरेन भनेर विज्ञप्ति निकाल्नुभएको छ । त्यो विज्ञप्ति कस्तो छ भने जनप्रतिनिधिहरुको चरित्र हत्या हुनेगरी योजना बनाएर प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो सभामुख महोदय । जबकि हामीले समयमै खर्चको विवरण बुझाएका छौँ । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । हामीले आफ्नो फेसबुक पेज मार्फत,सामाजिक सञ्जालमार्फत खर्चको विवरण सार्वजनिक पनि गरेका छौँ । तर जानीजानी कानुनको आफैँ व्याख्या गरेर प्रमुख आयुक्तले जनप्रतिनिधिहरुको चरित्रहत्या गर्न खोज्नुभएको छ, त्यो खेदजनक छ । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्त ज्यूलाई माफी माग्नका लागि अनुरोध गर्दछु । माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई बाध्य भएर कि त हामीले मानहानिको मुद्दा ठोक्नुपर्छ, अथवा महाभियोग लगाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot