काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
‘कसैले माग्दैमा राजीनामा दिने कुरा हुँदैन । नेपालमा प्रमुख प्रतिपक्षको मुद्दै राजीनामा मात्र हुन थाल्यो । संसदमा खालि नाराबाजी गर्ने, अवरोध गर्ने, जनतामा भ्रम पर्ने गरी बोल्ने काम गरिरहेको छ । यो मुलुकमा संस्थागत भ्रष्टाचारको नेतृत्व गर्ने पार्टी नै एमाले हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, ललिता निवास प्रकरणमा पनि एमाले’ जोडियो । तर उसैले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्नु हास्यास्पद हो । जो भ्रष्टाचार नियन्त्रणमा लागेको छ, उसैको राजीनामा माग्न मिल्छ ? नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कांग्रेसका सांसद डा. सुनील शर्माले पनि गृहमन्त्रीको राजीनामा माग्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा सांसद दाहालले भने, ‘उहाँको बुझाइ नै अन्तिम सत्य हो त ? त्यसको पुष्टि गर्नुपरेन ? सुन तस्करीमा संलग्नता पुष्टि भयो भने गृहमन्त्रीले राजीनामा मात्र दिने होइन, जेल पनि जानुपर्छ नि । तर एउटा कुरा एक क्विन्टल सुन सरकारले पक्रेको होइन ? सरकारकै निकायले पक्रेको होइन ? प्रतिपक्ष दल वा अरु कसैले बाटामा पक्रेको हो र ? अब विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने गरी अनुसन्धान गर्नुपर्छ र यसमा सबैले सहयोग गर्नुपर्छ ।’