Logo

कोशीको कामचलाउ मुख्यमन्त्री हिक्मतलाई तोक्न एमालेको माग



काठमाडौं,१५ साउन । नेकपा एमालेले कोशी प्रदेश प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ ।

सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेको एमाले नेताहरुको टोलीले सर्वोच्चको आदेश अनुसार सरकारविहीनताको अवस्था सिर्जना भएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार नबनेसम्म कामचलाउ मुख्यमन्त्री दिन आग्रह गरेको प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले रिर्पोटस नेपाललाई जानकारी दिए ।

एमालेको आग्रहलाई प्रदेश प्रमुख खापुङले भने यसै गर्छु भन्न नसक्ने जवाफ दिएका छन् । प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतबाट पूर्णपाठ नआएको कारण आफु अन्यौलमा परेको र यस बारेमा कानूनविदसँग थप छलफल गरेर निर्णय लिने जानकारी पाएको अधिवक्तासमेत रहेका एमाले प्रदेश सभा सदस्य अधिकारीले बताए ।

अधिकारीले सर्वोच्चको फैसला नआए पनि प्रदेश प्रमुखले राष्ट्रपति कार्यालयसँग समन्वय गरेर कामचलाउ मुख्यमन्त्रीका बारेमा बोल्नुपर्ने सुझाव दिएको बताए । उनको सुझावपछि यस विषयमा आफूले छलफल गर्न भुल गरेको र आवश्यक छलफल गर्ने प्रदेश प्रमुख खापुङले बताएका थिए ।

यसैबीच एमालेले आवश्यक बहुमत जुटाउन सके नयाँ बन्ने सरकारमासमेत धारा १६८ को २ अनुसार दाबी पेस गर्ने भएको छ । प्रदेश सभा सदस्य अधिकारीले बहुमत जुटाउन सके सरकारको दाबी गर्ने एमालेको तयारी रहेको बताए । उनले गठवन्धन दलसँग पनि प्रष्ट बहुमत नभएको कारण जुनसुकै हालतमा पनि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा भोलि प्रदेश सरकार बन्ने दाबी गरे ।

असार २१ गते निमार्ण भएको उद्धव थापा नेतृत्को प्रदेश सरकार असंवैधानिक ठहर गर्दै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार बनाउन परमादेश दिएपछि अहिले कोशी प्रदेश सरकार निर्माणको चटारो सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot