Logo

माओवादी महासचिवलाई प्रश्न— ६०८ जना केन्द्रीय सदस्यले ‘लाइभ’ बोल्न पाउँछन् ?



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले पार्टी केन्द्रीय समिति बैठकका विषयमा उल्टापाल्टा समाचार आउने भएकाले लाइभ जानु उपयुक्त हुने सुझाव आएको बताएका छन् ।
‘केन्द्रीय समिति बैठक लाइभमा जाने कि नजाने, छलफलकै क्रममा छ । बैठकभित्र भएका कुरामा उल्टापाल्टा प्रचार हुने भएकाले जीवन्त चित्र नै गएको खण्डमा जे छ, त्यही कुरा हुन्छ । लोकतन्त्रको विधि र प्रक्रिया अनुसार खुला छलफल गर्दा के फरक पर्छ र भन्ने कुरा पनि उठेको छ । आज स्थायी समितिले के निर्णय गर्छ ? त्यसपछि टुंगो लाग्ला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । तपाईं लाइभको पक्ष वा विपक्षमा कता हुनुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिएनन् ।
केन्द्रीय समिति बैठकमा ६०८ केन्द्रीय सदस्य सबैले बोल्न पाउँछन् भन्ने प्रश्नमा पनि महासचिव गुरुङले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘सामान्यतः ६–६ महिनामा बस्ने भनेको बैठक डेढ वर्षपछि बस्दै छ । अलिकति ढिला भयो । राष्ट्रिय राजनीतिक परिस्थिति, सांगठानिक स्थिति, आगामी योजना र समसामयिक प्रस्तावमा छलफल हुन्छ ।’
पार्टीका नेताहरुलाई सुन तस्करीमा अनावश्यक रुपमा मुछ्न खोजिएको पनि उनले बताए । गुरुङले थपे, ‘कार्यालयको बैठकमा यसबारे छलफल भएको थियो । कुनै सन्दर्भमा भेटघाट भएको कुरालाई जोडेर प्रचार गरिएको छ । यसमा यथार्थता, सान्दर्भिकता र सत्यतथ्य देखिँदैन । सरकारको छानबिन प्रक्रिया चलोस् र निर्दोष नपरुन्, दोषी नछुटुन् भन्नेमा पार्टी एकढिक्का छ । त्यसमा मुछिएको जो कोही पनि सजायको भागी हुनुपर्छ । यसबाट ब्याक हुने वा नहुने भन्ने प्रश्न नै होइन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot